काठमाण्डौं १२ फागुन । सत्तनरुढ नेकपाका दुवै अध्यक्षबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहान १० बजेबाट भेटवार्ता सुरु भएको हो ।
भेटमा राष्ट्रिय सभा सदस्यलाई पनि प्रतिनिधि सभा सदस्यले जस्तै प्रधानमन्त्री बन्न पाउन सक्ने विषयमा संविधान संशोधनका लागि आवश्यक छलफल गर्न दुवै अध्यक्षले कुराकानी गरेको बालुवाटार स्रोतले बताएको छ ।
सेक्युरिटी प्रेस खरिदमा निवर्तमान सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसनबारे गरेको डिलिङको अडियो बाहिरिएपछि बाँस्कोटामाथि थप छानविन गर्ने विषयमा पनि दुवै अध्यक्षबीच छलफल हुने स्रोतले बताएको छ ।
आइतबार धनुषामा १५ दिने मिथिलामध्यमा परिक्रमा महात्सव उद्घाटनका लागि पुगेका प्रचण्डले सञ्चारकर्महरुसँग कुराकानी गर्दै निवर्तमान सञ्चारमन्त्री बाँस्कोटामाथि पार्टीले आवश्यक छानविन गर्ने बताएका थिए ।
‘यस विषयमा छानविन गर्न दुवै अध्यक्षहरु सकारात्मक हुनुहुन्छ,’ प्रचण्डनिकट स्रोतले भन्यो । यस्तै संविधान संशोधन गरेर पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने चर्चा चलिरेका बेला दुवै अध्यक्षले यस विषयमा पनि निष्कर्ष निकाल्ने छन् ।
प्रतिनिधि सभा निर्वाचनमा पराजित गौतम प्रधानमन्त्री र राष्ट्रपतिको सिफारिसमा राष्ट्रिय सभा सदस्य बन्ने लगभग पक्का भएको अवस्थामा दुवै अध्यक्षले यसबारेमा छलफल गरेका हुन् । ‘समसामयिक विषयमा दुवै अध्यक्षज्यूबीच भेटवार्ता जारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ।
नयाँ पत्रिकाबाट


