महाशिवरात्री : पशुपतिमा नागाबाबाको रौनक

काठमाडौं  ९ फागुन । नेपालको कानुनअनुसार सार्वजनिक स्थानमा नांगो भएर हिँड्न पाइँदैन । तर, अहिले तपाईं पशुपतिनाथ मन्दिर जानुभयो भने शरीरमा खरानी घसेका जोगीहरु नग्न अवस्थामा यत्रतत्र देख्नुहुन्छ ।

नेपालका सम्पूर्ण हिन्दूहरुका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल हो पशुपतिनाथ । शिवरात्रीका अवसरमा यहाँ भक्तजनहरुको व्यापक घुइँचो हुन्छ । घुइँचोमा महिला दिदी–बहिनीहरु पनि हुन्छन् । मन्दिर परिसरमा नांगै उभिएका जोगीहरुबाट आफ्नो नजर जोगाउन गाह्रो पर्छ उनीहरुलाई । अझ बालबच्चा पनि लिएर आउने महिलाहरु त झनै सकसमा हुन्छन् ।

किन आउँछन् नागाबाबा ?

धर्मशास्त्र अनुसार हिन्दू धर्ममा भगवान शिवलाई दुई रूपमा पाइन्छ । पहिलो बाघाम्बर र दोस्रो दिगम्बर । बाघाम्बर रुप भनेको बाघको छाला बेरेको अवस्था हो भने, दिगम्बर रुप भनेको पूर्णरुपमा निर्वस्त्र अवस्था हो । हामीले तस्वीरहरूमा देख्ने गरेका शिवजी बाघाम्बर स्वरुपका हुन् ।

संसारका पुरातन सम्प्रदायमध्येको पहिलो सम्प्रदाय हो, नागा सम्प्रदाय । उनीहरू शिवभक्त हुन् । उनीहरूले शिवको दिगम्बर स्वरुपको नक्कल गरेर नागा अर्थात् नग्न जीवन बाँच्ने अभ्यास गर्छन् । नागाबाबाहरू पनि दुईथरी हुन्छन् । एकथरी तीन सय ६५ दिनै नांगो भएर बस्छन् भने, अर्काथरी शिवरात्रिमा वा अन्य विशेष अवसरमा नांगिन्छन् ।
नागाबाबाले आफूलाई हरेकखालका लोकलाजबाट मुक्त गराएका हुन्छन् । मानिसले लगाउने बाहिरी आभूषण देखावटी मात्रै हुन् भन्ने उनीहरूको मान्यता हुन्छ । शिवजी र अग्नि एकापसमा अन्योन्याश्रति भएकाले नागाहरूले अग्निलाई आफ्नो परिधान बनाएका हुन्छन् र शरीरमा खरानी लेपन गर्छन् । सबै लोकलाजबाट मुक्त भएर नागा बन्नका लागि कठोर साधना चाहिने भएकाले नागाबाबालाई साधुहरूमध्ये उच्चकोटिमा राख्ने गरिन्छ ।

 

शेयर गरौ

ताजा अपडेट