उड्यन प्राधिकरणको निश्कर्ष ‘भरतपुर विमानस्थल यथास्थितिमा चलाउनु जोखिम’

 

चितवन समाचार डटकम
२५ माघ । नेपाल नागरिक उड्यन प्राधिकरणको उच्च स्तरीय टोलीले भरतपुर विमान यथास्थितिमा सञ्चालन गर्नु असुरक्षित रहेको निष्कर्ष निकालेको छ ।
स्थलगत अध्ययनका लागि आज भरतपुर आएको टोलीले अहिलेको अवस्थाको मुल्याङकन गर्दै तत्काल स्तरोन्नती र विस्तार गरिनु पर्ने जनाएको हो । विमानस्थलको हालको स्थिति र गर्नु पर्ने सुधारका विषयमा अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली आएको हो ।

टोलीले विमान स्थलको स्थलगत निरिक्षण र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालसंग छलफल गरेको छ । उपमहानिर्देशक पोखरेलले भरतपुर विमान स्थललाई आन्तरिक उड्यन तर्फ आधुनिक र पूर्ण क्षमताको रुपमा स्तरोन्नती गर्ने गृहकार्य शुरु भएको चितवन समाचार डटकमलाई जानकारी दिनु भयो ।
‘भरतपुर विमान स्थल अहिले त्यती सुरक्षित छैन, यथा स्थितिमा चलाउन उपयुक्त पनि छैन तत्काल विस्तार र स्तरोन्नतीको काम हुनु पर्दछ ’ पोखरेलले भन्नु भयो । उहाले धावनमार्ग प्रयोगमा नै आउने अवस्थामा १५ सय मिटर न्यूनतम हुनु पर्ने बताउनु भयो । भरतपुर विमान स्थलमा हाल १२ सय मिटरको धावनमार्ग रहेपनि वरपरका संरचनाका कारण ९ सय मिटर मात्र प्रयोगमा रहेको छ । ‘मापदण्ड विपरितका निर्माणले समस्या आयो ’ पोखरेलले भन्नु भयो ‘विमानलाई ल्याण्डिङ र टेकअफलाई गाहे भएको छ ।’

धावनमार्ग छोटो हुदा विमानको पाटपुर्जामा बढी जोड पर्न गइ प्राविधिक जटिलता देखिने, नजिकका भवन तथा पूर्वाधारमा ठोक्किन सक्ने सधैभरी डर भइरहने, जोखिम वढ्ने जस्ता कारणहरुले धेरै सख्यामा र धेरै सिट क्षमता भएका विमानहरु भरतपुरमा आउन नसकेको उपमहानिर्देशक पोखरेलले बताउनु भयो । धावनमार्ग विस्तारका लागि हालको सेना व्यारेक भित्र रहेको घोडा प्रजनन् केन्द्रसम्मको स्थानलाई अधिग्रहण गर्ने प्राधिकरणको योजना छ । अहिलेको अध्ययन र सम्भावित योजनाहरुलाई समेटेर एकहप्ता भित्र प्रतिवेदन तयारपारी भरतपुर महानगर, यहाका सरोकारवालासंग छलफल गरी टुङगोमा पुग्ने योजना रहेको भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले जानकारी दिनु भयो ।

विमान स्थल विस्तारको विषयमा भरतपुर महानगरपालिका पनि सकरात्मक छ । महानगर प्रमुख रेनु दाहालले छिट्टै गुरु योजना बनाएर विस्तारको काम गरिने बताउनु भयो । यसलाई थप व्यवस्थित बनाउन हामी लागि परेका छौ, केन्द्र सरकारले तदारुपता देखाएको छ, छिट्टै नतिजा आउने छ दाहालले भन्नु भयो ।

शेयर गरौ

ताजा अपडेट