वुहानबाट फर्किएकाहरूको स्वास्थ्य परीक्षण ः सबै सुरक्षित

काठमाण्डौं ७ फागुन । चीनको वुहानबाट उद्धार गरेर नेपाल ल्याइएका एक सय ७५ जना सबै सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमूनाहरू परीक्षण गरिएकोमा सबैमा कोरोना भाइरस ९कोभिड–१९० नभएको पुष्टि मन्त्रालयले गरेको हो । मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले गरेको परीक्षणका क्रममा सबैमा कोभिड–१९ नकरात्मक देखिएको बताए ।

वुहानबाट ल्याइएकाहरूलाई भक्तपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा राखिएको छ । उद्धार गरिएकाहरू सबैको क्वारेन्टाइनमा राखिएको चौधौँ दिनमा पुनः परीक्षण गरिने मन्त्रालयले जनाएको छ ।

चीनबाट फर्किएका नेपालीहरू कसैमा पनि संक्रमण नदेखिएकाले त्रसित नहुन मन्त्रालयले आग्रहसमेत गरेको छ । अहिलेसम्म नेपालमा दुई सय १० जनामा कोभिड–१९ परीक्षण गरिएकोमा एक जनामा मात्रै पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । पोजेटिभ देखिएका व्यक्ति पनि स्वस्थ्य भएर घर फर्किएका छन् ।

यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन् । चीनबाट उद्धार गरिएका सबैमा कोभिड–१९ नकारात्मक देखिएपछि उनले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि सुरक्षित रहेको सन्देश दिनुपर्ने बताए ।

मन्त्री भट्टराईले विमानस्थललगायत अन्य नाकामा उच्च सतर्कता अपनाइएको भन्दै चीनले आफूलाई कोरोनाबाट सम्पूर्ण रूपमा मुक्त भएको घोषणा नगरेसम्म चिनियाँ पर्यटक नआउने पनि स्पष्ट पारे । चीन कोरोनामुक्त भएपछि भने ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउने उनको अपेक्षा छ ।

चीनबाट पर्यटक नआउँदा भएको घाटा बाह्य मुलुकबाट पूर्ति गर्नुपर्ने भन्दै मन्त्री भट्टराईले विभिन्न १२ वटा डेस्क स्थापना गरेर युरोप, अमेरिका, मध्यपूर्वलगायतका देशमा परिचालन गरिने बताए । उनले छिमेकी मुलुकले ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा सक्दो साथ र सहानुभूति दिनुपर्ने बताए ।
नयाँ पत्रिकाबाट

शेयर गरौ

ताजा अपडेट