काठमाडौं, ६ फागुन । नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ ।
गणेश पाण्डेद्वारा निर्देशित ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले निफमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको हो । राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको महोत्सवमा ४० वटा देशका ८० वटा फिल्म प्रतिस्पर्धामा थिए ।
वृत्तचित्र तथा लघु चलचित्र विधाकी निर्णायक मण्डल प्रमुख श्रीलंकन चलचित्रकर्मी अनोमा राजाकरुनाले निर्देशक पाण्डेलाई पुरस्कार तथा ट्रफी हस्तान्तरण गरिन् । निर्णायक मण्डलका सदस्य एवम् स्विजरल्याण्डको विश्वप्रसिद्ध लोकार्ने चलचित्र महोत्सवका ‘ओपन डोर’ संयोजकका थिबाउट बाराकले ‘सहायक श्रीमान्’ ले नेपालमा लामो समयदेखि विद्यमान बहुपति प्रथालाई कलात्मक रुपमा पर्दामा उतार्न सफल भएको बताए ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् । हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई डकुमेन्ट्रीले उठाएको छ ।


