मानिस मात्र होइन पशुपनि भोकै मर्ने अवस्था आउँदैन : प्रधानमन्त्री ओली

 

झापा ४ फागुन । प्रधानमन्त्री केपी ओलीले देशमा कोही पनि भोकै मर्नुपर्ने अवस्था नआउने बताएका छन् ।
गृहनगर झापाको दमकमा विभिन्न सडकको उद्घाटन र शिलान्यासपछि बोल्दै उनले देश गरिब भए पनि खानै नपाएर मर्ने अवस्था भने कसैको पनि नआउने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाल उर्वर भूमी रहेको भन्दै नेपालजस्तो उर्वर देशमा पशुपन्छी पनि भोकै मर्ने अवस्था नआउने बताए । ‘कहीँ न कहीँ वनजंगल छ । त्यहाँका फलफूल, कन्दमुल खान पाउँछन्’, उनले भने, ‘बाँदर, चरा पनि भोकले मरेको थाहा छैन ।’ देशमा जनताको सरकार रहेको भन्दै उनले मान्छे भोकै मर्ने कुरा कल्पना पनि नगर्न बताए । उनले आफूले दुई लाख रुपैयाँ बराबरको चामल किनेर भण्डारण गरेको भन्दै आवश्यक परेमा वितरण गरिनेसमेत स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले जस्ताको छानो लगाउन जनतालाई सरकारले सहयोग गर्ने भन्दै देशमा कसैको घर पनि फुस र खरको छानोको नहुने बताए । ‘खर र फुसको छानोलाई जस्ता पाताका छानोले विस्थापित गर्छ,’ उनले भने, ‘टिन लगाउन नसक्ने परिवारलाई सरकारले सहयोग गर्छ ।’ जनता आवासतर्फ यस वर्ष आठ हजार घर बनाइएको भन्दै उनले आवासविहीनले कहाँ बस्ने भन्ने चिन्ता पनि गर्न नपर्ने बताए ।

सुकुम्बासीलाई पनि सरकारले उचित बसोबासको व्यवस्था मिलाउने प्रधानमन्त्री ओलीले बताए । ‘तर सुकुम्बासीका नाममा हडपिएका सरकारी र सार्वजनिक जग्गा चाहिँ सरकारले आफ्नो नाममा फिर्ता ल्याउँदैछ,’ उनले भने, ‘त्यसैले सरकारी जग्गा हडप्ने सपना चाहिँ कसैले पनि नदेखे हुन्छ ।’ केही कानुनी तथा व्यवहारिक समस्याका कारण सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउने कार्य तीव्र हुन नसकेको उनको भनाइ छ । उनले वास्तविक सुकुम्बासीलाई भने जग्गा उपलब्ध गराइने बताए ।

पाँच महिनापछि गृहनगर दमक आइपुगेका प्रधानमन्त्री ओली करिब तीन घण्टा बसेका थिए । त्यो समयमा उनले कृष्णमन्दिर–बेल्डाँगी सडक उद्घाटन, दमक–मधुमल्ला जोड्ने मावा पुलको उद्घाटन र दमक–चिसापानी–रवि सडकको कालोपत्रे शिलान्यास गरे ।

शेयर गरौ

ताजा अपडेट