महरा बलात्कार सम्वन्धी फैसला भोलि

काठमाडौं, ४ फागुन । पूर्व सभामुख कृष्णबहादुर महराको बलात्कारसम्बन्धी मुद्दामा अदालतले सोमबार मात्र फैसला गर्ने सुनाउने भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको हो ।

महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो । फैसला भोलि मात्र आउने सहप्रवक्ता विकाससिंह खत्रीले जानकारी दिएका ।

आइतबार अदालतमा महराको तर्फबाट आठ वकिलले बहस गरेका थिए । अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैलानी, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका हुन् । माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो । सरकारी वकिलको बहस यसअघि नै सकिएको थियो ।

गत असोज १२ गतेर संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूमाथि जबरजस्ती करणी प्रयास गरेको आरोप लगाएकी थिइन् । असोज १४ मा महराले सभामुख पदबाट राजीनामा दिए ।

उजुरी दर्ता भएपछि असोज १९ मा उनी पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपनि उसले जिल्लाकै आदेश सदर गरेको थियो ।

अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूमाथि करणी प्रयास नगरेको दाबी गरेकी थिइन् । उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन् ।

ताजा अपडेट