कोरोनाबाट मर्नेको सन्ख्या एक हजार ३५० पुग्यो : ६० हजार बढी संक्रमित

बेइजिङ, १ फागुन । प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ३५० पुगेको छ । यस्तै यो रोगबाट ६० हजार बढी संक्रमित भइसकेको जनाइएको छ ।

चीनको हुबेई प्रान्तमा बुधबार एकै दिन २४२ जनाको ज्यान गएको छ । कोरोना भाइरस फैलन शुरु भएपछि एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलो घटना हो ।

बुधबार मात्र १४ हजार ८४० जनामा यसको संक्रमण भेटिएको अधिकारीहरुले बताएका छन् । हुबेई प्रान्तले पूरै चीनमा भएको संक्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

सिङ्गापुरमा बैंक खाली गराइयो, कर्मचारीहरुलाई छुट्टी
सिङ्गापुरको डीबीएस बैंकका एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाको संक्रमण पाइएपछि बैंक खाली गराइएको छ र कर्मचारीहरुलाई बिदा दिइएको छ ।
डीबीएस बैंकको एक तलामा तीन सय जना कर्मचारी काम गरिरहेका थिए । ती सबै कर्मचारीलाई बुधबारदेखि छुट्टी दिइएको छ । यो बैंक ‘मरीना बे पाइनेन्सियल सेन्टर’ को ४३ औं तलामा रहेको छ ।

यसअघि सिङ्गापुरमा कोरोना भाइरसको ४७ घटना सार्वजनिक भइसकेका छन् । चीनपछि कोरोना भाइरसको घटना यो सबैभन्दा धेरै हो । कोरोना भाइरसको खतरालाई मध्यनजर गर्दै चीनमा आउँदो १९ अप्रिलमा हुने भनिएको फर्मुला वान रेस पनि स्थगित गरिएको छ ।

यो रेस सञ्चालन गर्ने निकाय एफआईएले भनेको छ, ‘कर्मचारी, प्रतियोगी र दर्शकको स्वास्थ्य र सुरक्षालाई सुनिश्चित गर्न यस्तो उपाय अपनाइएको हो । अवस्था सुध्रँदै गएपछि नयाँ तारिख तय गरिनेछ ।’

खोप बनाउन अझै केही समय लाग्ने
चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस संक्रमितको संख्या घट्न थालेको जनाइएको छ । संक्रमित हुनेको संख्या घटे पनि कोरोना भाइरसको महामारी तत्काल अन्त्य हुने घोषणा गर्न अहिले धेरै चाँडो हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

कोरोनाविरुद्ध लड्न चार वटा खोप बनाउने योजनामा रहेको पनि विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । सङ्गठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामिनाथनले खोप बनाउने तयारी भए पनि केही समय लाग्ने जानकारी दिएकी हुन् । भनिन्, ‘मलाई लाग्छ हामी भ्याक्सिन बनाउन सक्छौं तर, यसका लागि केही समय लाग्न सक्छ, यो एकै रातको काम होइन ।’ एजेन्सी

ताजा अपडेट