चितवन २३ माघ । चितवनको रामपुरमा निर्माणाधिन अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सव आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गईरहेको छ ।
जारी महायज्ञमा आज (बिहिबार) मात्रै पाँच करोड बढी रकम संकलन भएको मुल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिनु भयो । महोत्सवको पाँचौ आज सहयोग गर्ने दाताहरुको घुइँचो लागेको थियो । महोत्सवमा आज जिल्ला समन्वय समिति चितवनले दुइ करोड २२ लाख २२ हजार दुइ सय २२ रुपैंया सहयोग गरेको सुवेदीले जानकारी दिनु भयो ।
यस्तै चितवनको पोल्ट्री व्यवसायीहरुको तर्फबाट नेपाल पोल्ट्री महासंघका केन्द्रिय अध्यक्ष गुणचन्द्र बिष्टले एक करोड सहयोगको घोषणा गरेको उहाले जानकारी दिनु भयो । बिष्टले महायज्ञ स्थलमा ५० लाख नगद दिएका छन् भने बाँकी रकम छिट्टै उपलब्ध गराउने बताएका छन् ।
यस्तै चितवनका उद्योग संघले ५१ लाख ७७ हजार २२२ रुपैँया सहयोग गरेको छ । संघका अध्यक्ष राजु पौडेलले उक्त सहयोग रकम महोत्सवमा हस्तान्तरण गर्नु भयो । संघले यस अगाडि पनि १२ लाख सहयोग गरेको थियो । यस्तै चितवनको माडी नगरपालिकाले महोत्सब मार्फत ३० लाख रंगशाला निर्माणका लागि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिनु भयो ।
यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेका थिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । शुक्रबार सहयोगी दाताहरु बढ्ने मुल आयोजक समितिले जनाएको छ ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा दुइ वर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।


