काठमाडौं, २१ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याएर उपचार गर्ने कुरा गम्भीर विषय रहेको बताएका छन् ।
उनले सरकार ती विद्यार्थीहरुलाई विलम्ब नगरी नेपाल ल्याउने तयारी भइरहेको पनि जानकारी दिए । मंगलबारको प्रतिनिधिसभा वैठकमा बोल्दै उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा उनीहरुलाई ल्याउन जरुरी छ । तर, उनीहरुबाट अरुमा रोग सङ्क्रमण नहोस् भनेर सावधानी अपनाउन पनि जरुरी छ । जुन देशमा चीनबाट नागरिक ल्याएर संरक्षण गरियो त्यहाँबाट पनि छिटपुट प्रतिक्रिया आएको छ । जोखिम नहुने सुनिश्चिता गरेर मात्रै ल्याउने तयारीमा रहेका छौं ।’
उनले चीनबाट ल्याइएका नागरिकलाई कुन ठाउँमा राख्ने भन्ने निश्चयमा सरकार रहेको बताउँदै बस्ती भन्दा टाढा रहेको ठाँउ छनौटमा गरेको बताए । कांग्रेस सांसद प्रदिप चौधरीले सरकारले चीनबाट फर्काइने नेपालीलाई राख्न सरकारले पाँच दिनसम्ममा पनि ठाउँ खोज्न नसकेको बताएका थिए । चीनबाट फर्काइएकालाई राख्ने ठाउँ नभए संसद भवन खाली गराऊ भन्ने सांसद चौधरीको सवालको जवाफ दिंदै मन्त्री ढकालले बानेश्वरको हलमा राखेर मात्र कोरोना भाइरस नियन्त्रण नहुने जवाफ दिएका थिए ।
दूतावासमार्फत चीनमा रहेका १८० नेपाली नागरिकले नेपाल फर्कन फर्म भरेको बताउँदै मन्त्री ढकालले उनीहरुमाथि सबैभन्दा पहिलो परीक्षण चीनमा हुने बताए । उनले उनीहरुमा संक्रमण भए चीन सरकारले नेपाल नपठाउने बताए ।
उनले चीनको हुवान प्रान्तमा सडक यातायात, प्लेन सबै बन्द रहेको बताउँदै चीन सरकारसँग समन्वय गरेर ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘उनीहरुलाई नेपाल ल्याउदा एयरर्पोटमा लिन जाँदा सम्पूर्ण साधन लिएर जानुपर्ने अवस्था छ । घरमा जाने सुविधा हुँदैन । १४ दिन न्यूनतम क्वारेन्टाइनमा राख्नुपर्छ । उनीहरुमा केही छैन भनेपछि मात्रै सार्वजनिक सम्पर्कमा जान सक्ने छन् ।’
उनले संक्रामक रोगको उपचार ऐन २०२० अनुसार त्यस्ता व्यक्तिलाई छुट्टै राखी उपचार गर्न मन्त्रीपरिषदको बैठकले आदेश जारी गरेको पनि जानकारी दिए । साथै उपचारका लागि तीन अस्पतालमा ४३ वटा बेडको तयारी गरेको पनि उनको भनाइ छ । पोखरा चितवन र भैरहवामा हेल्प डेस्क स्थापना गरेको बताउँदै मन्त्री ढकालले रसुवा र तातोपानीलाई पनि सम्भावित जोखिमको ठाउँमा राखिएको जानकारी दिएका थिए ।
साथै विभिन्न समयमा हुने संक्रमणका रोगीका लागि उपचार गर्न सरकारले भएको बिरामी भएमा त्यस्ता विरामीको उपचारका लागि स्वास्थ मन्त्रालयले तीन सयसम्म बेडसम्मको अस्पताल बनाउने तयारी गरेको उल्लेख गरे । सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न गरेको तयारीमा विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारीले पनि सन्तोष ब्यक्त गरेको बताए ।
सरुवा रोग कोरोना भाइसरबारे प्रतिनिधिसभाको बैठकमा सवालजवाफ भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा चीनबाट फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारको तयारीबारे सांसदहरुले प्रश्न गरेका छन् ।
मन्त्री भानुभक्त ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दुई पटक विज्ञहरुसँग बैठक बसेको बताउँदै आवश्यक तयारीको योजना बनाएको जानकारी गराए । उनले आफ्नो नेतृत्वमा उच्चस्तरीय समिति र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम गरिरहेको उल्लेख गरे ।
कोरोना भाइरसबाट कसरी बच्ने भनेर चेतनामूलक विज्ञापन गरिरहेको बताउँदै हरेक दिन पत्रकारसँग यसबारेमा ब्रिफिङको काम गरेको जानकारी दिए । साथै अस्पतालतसँग विभिन्न समयमा बैठक बसेर अन्त्क्रिया परामर्श गरिरहेको बताए ।
‘नेपालमा १३ जनालाई परीक्षण गरियो, कोरोनाभाइरस संक्रमण देखिएन’
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अहिलेसम्म नेपालमा १३ जनामा कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण गरिएको बताएका छन् ।
आशंका गरिएका १३ जनामा परीक्षण गरे पनि एक जनामा पनि कोरोना संक्रमण नदेखिएको जानकारी मन्त्री ढकालले मंगलबार प्रतिनिधिसभा संसदमा दिएका हुन् । संसद बैठकको शून्य समयमा सत्ता र प्रतिपक्ष सांसदहरूले कोरोनाभाइरस संक्रमणबारे सरकारले सदनलाई जानकारी दिनुपर्ने आवाज उठाएका थिए ।
‘चीनको वुहान पढेर आएका एक व्यक्तिमा जनवरी ९ मा कोरोना भाइरस देखिएको थियो । भाइरस देखिएको १० दिनसम्म पनि पोजेटिभ नै देखिएको थियो । त्यसपछि परीक्षण गर्दा नेगेटिभ देखियो,’ उनले भने, ‘आशंकित १३ जनालाई परीक्षण गरियो । खुशी नै हुनुपर्छ कसैमा पोजेटिभ देखिएन ।’


