काठमाडौं, २१ माघ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धित प्रतिवेदनहरु पेश हुने सम्भावित कार्यसूची छन् ।
महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूचीमा रहेको संघीय संसदको निमित्त महासचिव गोपालनाथ योगीले जनाएका छन् ।
यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि छ ।
आज नै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले चार वटा विधेयक पेश गर्ने तयारी पनि छ । संसद सचिवालयका अनुसार सार्वजनिक ऋण व्यवस्थापन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक अर्थमन्त्री खतिवडाले पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


