भरतपुर , माघ २४ ।
बाह्मण समाज चितवनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्रका रुपमा घोषणा गर्न माग गरेको छ । बाह्मण समाजले आफ्ना विभिन्न १३ बुँदे माग सहितको ज्ञापन पत्र मार्फत् सो माग गरेको हो । समाजले विहिबार जिल्ला प्रशासन कार्यालय चितवनमा सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई १३ बुँदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । समाजका जिल्ला अध्यक्ष रुद्र प्रसाद पौडेल र सचिव घनश्याम अधिकारीद्वारा संयुक्त रुपमा हस्ताक्षरित ज्ञापन पत्रमा सरकारले आफुहरुसंग पटक पटक गरेका सम्झौताहरु कार्यान्वयन गराँउने तर्फ यथाशिघ्र कदम चाल्न आग्रह गरिएको छ ।
नैतिक शिक्षालाई माध्यमिक तहसम्मको पाठ्यक्रममा अनिवार्य गरिनुपर्ने, ९४ प्रतिशत भन्दा बढी ओमकार परिवारका धार्मिक आस्थाका धरोहरहरुको उचित संरक्षण र सम्वद्र्धन गरिनुपर्ने, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सार्वजनिक बिदा दिईनुपर्ने, बाह्मण समाजद्वारा बनाईएका राष्ट्रिय योजना र कार्यक्रमहरुलाई आवश्यक सहयोग उपलब्ध गराईनुपर्ने लगायतका माग ज्ञापन पत्रमा उल्लेख छ ।
बाह्मण समाज चितवनका कार्यवाहक अध्यक्ष धुव्र कुमार तिमिल्सिना, केन्द्रिय सदस्य धुव्र राज अर्याल, भूतपूर्व अध्यक्ष एवम् सल्लाहाकार संयोजक काशीराम पौडेल, भरतपुर नगर अध्यक्ष ठाकुर प्रसाद कँडेलले संयुक्त रुपमा ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी जनक राज पन्तलाई हस्तान्तरण गर्नुभएको हो । ज्ञापन पत्र लिदै सहायक प्रमुख जिल्ला अधिकारी पन्तले बाह्मण समाजका मागहरु आफुले सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
