काठमाडौं, १६ माघ । नेपालका उच्च ओहदाका कर्मचारीहरुको समेत हुने गरेको छ–‘जागिरको कमाइ घर चर्खमै ठिक हुन्छ ।’ अझै तल्ला तहका कर्मचारीको घर यस्तो महँगाइमा कसरी चलिरहेको होला ? तल्ला तहका कर्मचारी भन्ने वित्तिक्कै हामी सबैको मनमा सहानुभूति जाग्छ ।
तर, एक कार्यालय सहयोगीको कमाइ नौं करोड भन्ने सुन्दा धेरैलाई अपत्यारिलो लाग्छ । तर, मालपोत कार्यालय चावहिलका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै नौं करोड बढी अबैध सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अवैध सम्पत्ति आर्जन गरेको कसुरमा विगो ८ करोड ९८ लाख ५८ हजार ६ सय १३ कामय गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
बस्नेतले २०४५ साल असोज १९ देखि मालपोत विभाग काठमाडौंमा कार्यालय सहयोगी पदबाट स्थायी नियुक्ति भई सरकारी सेवामा प्रवेश गरेका थिए । उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि आर्थिक वर्ष २०७५–०७६ सम्मको अवधिलाई हेर्दा पारिश्रमिक, घर जग्गा बिक्री, सवारीसाधन बिक्री, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा, आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत गर्दा ७४ लाख ७३ हजार ३ सय ७३ वैध आय देखिएको छ ।
उनले अवैध सम्पत्ति आफ्नो तथा आफ्नो परिवारका सदस्यहरुलगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा दर्ता गरेको पाइएको अख्तियार स्रोतले जानकारी दिएको छ । भ्रष्टाचारको अनुसन्धान गर्ने क्रममा पक्राउ पर्दा उनको साथमा फेला परेको ११ लाखको समेत स्रोत नखुलेको अख्तियारले बताएको छ ।
अख्तियारले सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरेको छ ।


