चितवन १५ माघ । सीएमसी चितवन प्रिमियर लिग (सीपीएल) टि २० क्रिकेटको लागि राइट एण्ड एसोसिएट भरतपुर गुर्खाजले कडा मेहनतको साथ तयारी गरिरहेको छ ।
प्रतियोगिता शुरु हुने २ दिन मात्र बाँकी रहदा क्लब आफ्नो अन्तिम तयारीमा जुटेको हो । माघ १७ गतेदेखि शुरु हुने सीपीएलको पहिलो संस्करणको उपाधी उचाल्ने लक्ष्यका साथ भरतपुरले क्याम्पाचौर स्थित नेटमा तयारी गरिरहेको छ । कप्तान संघर्ष पौडेल र टिम म्यानेजर सिद्धान्त श्रेष्ठले खेलाडीलाई अभ्यासमा व्यस्त बनाई रहेका छन् ।
कप्तान पौडेलले नै टिमको अभ्यासलाई लिड गरिरहेका छन् । पहिलो संस्करणको उपाधी नै जित्ने लक्ष्यका साथ तयारी भईरहेको पौडेल बताउछन् । टिमले बलिङ, ब्याटिङ र फिल्डिङ सबै पक्षलाई उतिनै जोड दिएर अभ्यास गरिरहेको उनको भनाई छ ।
खेलाडीहरु बीचको बोन्डिङ नै भरतपुरको सबै भन्दा राम्रो पक्ष भएको पौडेल बताउछन् । अभ्यासको क्रममा खेलाडीहरुको तालमेल राम्रो देखिएको भन्दै उनी प्रतियोगितामा यस्तै देखिनेमा ढुक्क छन् । अरु टिम कस्तो छन् भन्दा पनि आफ्नो टिम कसरी बलियो बनाउने भन्नेको बढी केन्द्रित भएको उनको भनाई छ । उता टिम म्यानेजर सिद्धान्त श्रेष्ठ पनि उपाधी जित्ने लक्ष्यका साथ नै तयारी भईरहेको बताउछन् ।
यसैबीच भरतपुरले २ अण्डर १९ राष्ट्रिय टोलीका खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । उसले प्रतिक जिसी र रविन्द्र जङ्ग शाहीलाई आज अनुबन्ध गरेको हो । यस्तै भरतपुर आजै सम्पन्न ट्यालेन्ट हन्टबाट ३ जना खेलाडीहरुलाई पनि क्लबमा अनुबन्ध गरेको टिम मालिक सबल पियाले जानकारी दिए ।
ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाडीहरुमा रविन शर्मा, निशव तिमल्सिना र आशिष लम्साल रहेका छन् । आदर्श दुलाल, सुजन भट्टराई र सन्दीप ढकाललाई भने वैकल्पिकको रुपमा राखिएको पियाले बताए । यो सँगै भरतपुरको सीपीएल खेल्ने टिम तयार भएको छ ।
क्लबको प्रायोजक संस्था राइट एण्ड एसोसिएटका प्रवन्ध निर्देशक देवेन्द्रराज रेग्मी यस किसिमको प्रतियोगिता चितवनको क्रिकेट बिकासमा कोसेढुङ्गा साबित हुने बताछन् । सम्भावनाका बाबजुत पनि प्रतियोगिता नहुँदा यहाँका खेलाडीहरुले आफ्नो प्रतिभा देखाउन मौका नपाई रहेको बताउदै उनी सीपीएलले सुरुवातले चितवनमा क्रिकेटको माहोल झनै बढ्दै जाने उनको विश्वास छ ।


