भरतपुर विमान स्थल विस्तार गरिने, प्राविधिक टोली आउदै

चितवन समाचार डटकम
चितवन २४ माघ ।
भरतपुर विमान स्थल विस्तारको विषयलाई लिएर नेपाल नागरिक उड्यन प्राधिकरणको टोली स्थलगत अध्ययनको लागि चितवन आउने भएको छ ।

प्राधिकरणको उपमहानिर्देशक सहितको प्राविधिक टोलीले रात्रिकालिन उडान गर्नदेखि यसको लम्वाइ विस्तार गर्नको लागि आवश्यक विषयका बारेमा अध्ययन गर्न टोली भोली आउने भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । सस्कृति तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीले भरतपुर विमान स्थलको अवस्था बारे केही दिन अगाडि जानकारी लिए लगतै विस्तार गर्न पहल गर्नु भएको हो ।

महानगर प्रमुख दाहालले भन्नु भयो ‘मन्त्री ज्युको निर्देशनपछि नै यसको विस्तारको लागि अध्ययन शुरु भएको हो, हामीले पनि यसको विस्तार गर्नको लागि आवश्यक पहल गरेका छौ ।’ दाहालका अनुसार भरतपुर विमान स्थल विस्तार गर्नको लागि सरोकारवाला बिच बैठक राखेर आवश्यक छलफल गरेको छ । यहाँका सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, साँसद लगायतसंगको बैठकले पनि यसको विस्तार आवश्यक भएको महसुस गर्नु भएको छ ।

प्रमुख दाहालका अनुसार तत्काल व्यवस्थापन गर्नको लागि यहाँको रनवे सहित अन्य विषयमा काम गर्ने तयारी छ । अनावश्यक टहराहरु भत्काउने, विमान स्थलको व्यवस्थापन, जहाज अवतरण गर्दा जोखिम छ त्यसलाई सुरक्षित बनाउने काममा लागेको छ । विमान स्थलको वरीपरी नयाँ घर बन्न नदिने, बिजुलीका तारहरु अण्डरग्राउण्ड गर्ने काम तयारी भएको छ ।

अन्र्तराष्ट्रिय विमान स्थल निर्माणका लागि ठुलो योजना ल्याउनु पर्दछ दाहालले भन्नु भयो यसको लागि पछि छलफल गर्ने छौ । ७२ सिटे जहाज र रात्री कालिनको उडानको लागि घोडाको प्रजनन् केन्द्र अन्यत्र सार्नु पर्दछ । यसैको लागि टोलीले अध्ययन गरेर प्रतिवेदन तयार गरेपछि भन्न सक्छौ दाहालले भन्नु भयो ।

विमान स्थलमा तत्काल भिआइपी कक्ष, तारलाई व्यवस्थापन गर्ने, अग्ला रुखहरु काट्ने लगायतको काम गर्नको लागि अलगै समिति निर्माण भएको छ । त्यही समितिले यहाँको भित्री काम गर्ने छ । भरतपुर महानगरपालिकाले विमान स्थलको नजिक रहेका अग्ला घरका जस्ता, ट्रष्टहरु भत्काउनको लागि पत्राचार गरेको छ ।

भरतपुर विमान स्थलका प्रमुख पवन गौतमले भन्नु भयो ‘विमान स्थल वरीपरी घरहरु निर्माण गर्न रोकेका छौ ।’ विमान स्थलको एउटा मापदण्ड भित्र रहेर मात्र घरहरु निर्माण गर्न पाउने छन् त्यो भन्दा बाहिर घर बनाउन पाइदैन । उहाका अनुसार विमान स्थलको धावन मार्गको ल्याण्ड गर्ने स्थानबाट प्रत्येक दुइदुइ सय मिटरमा कती अग्लो बनाउने भन्ने माप दण्ड हुने छ ।

त्यसैको आधारमा घर निर्माण गर्नु पर्ने हुन्छ । तर यहाँ त्यो मापदण्ड पालना नभएको कार्यालयले जनाएको छ । घोडा प्रजनन् केन्द्र हटाएमा ७२ सिट क्षमता भएको जहाज सजिलै अवतरण गर्न सक्ने गौतमले जानकारी दिनु भयो । भरतपुर विमान स्थलमा दैनिक ७ सय यात्रुले यात्रा गर्दै आएका छन् । यहाँको विजिविलिटी दिउस २ हजार पाँच सय र रात्रीकालिनमा १५ सय भए पुग्छ । रात्री कालिन उडान गर्न सके यात्रा सहज हुने कार्यालयले जनाएको छ ।

ताजा अपडेट