काठमाडौं १५ माघ । नेकपाको राजधानी काठमाण्डौंमा आजबाट सुरु भएको केन्द्रीय कमिटीको वैठकमा अध्यक्ष द्वयको फोटो टासेको प्रति अपत्ती जनाएको छ ।
पार्टीको वैठकमा राजामहाराजाको झल्को दिने गरी दुइ अध्यक्षको फोटो टासेको भन्दै सहभागी नेताहरुले आपत्ती जनाएका हुन् । बैठक अघि बढाउन लागेकै बेला केन्द्रीय सदस्य राजेन्द्र राईले वैठक हलमा अध्यक्षद्वयको फोटो राखिनु राजतन्त्रको झल्को भन्दै अर्को बैठकमा हटाउन सुझाव दिनु भयो । ‘फोटो टाँग्ने निर्णय कसले गरेको हो ? आज हटाउन लाज हुन्छ भने अर्को बैठकमा हटाउनुस, राजाहरुको जस्तो भयो यो त’ उहाले भन्नु भयो ।
अर्का केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले पनि कम्युनिस्ट पार्टीको बैठकमा अध्यक्षको फोटो राख्ने निर्णय कुन कमिटीबाट भएको हो भन्दै कडा प्रतिवाद गर्नु भयो । अध्यक्ष प्रचण्डलाई भन्नु भयो ‘तपाईंलाई यो फोटो देखेर आनन्द लागेको छ ? भनी प्रश्न गर्नु भयो ।
बैठक हलमा ९ जना सचिवालय सदस्य बस्ने मन्चको दायाँ केपी ओली र बायाँतिर प्रचण्डको फोटो राखिएको छ । ब्यानरमा भने नेकपाका संस्थापक महासचिव पुष्पलाल र तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको तस्वीर राखिएको छ । यसअघि पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटो सँगै राख्ने गरिएको थियो ।
नेकपा बैठकमा यसपटक मार्क्स, एंगेल्स, लेनिनसहितका अन्तरराष्ट्रिय कम्युनिस्ट आन्दोलनका नेताहरुको तस्वीर हटाइएको छ । यसअघि कम्युनिस्ट पार्टीका हरेक कार्यक्रममा मार्क्स लेनिनहरुको फोटो राख्ने गरिएको थियो । मनमोहन र मार्क्स, लेनिनको फोटो हटाइएकोमा पनि नेकपाका केन्द्रीय सदस्यहरुले अचम्म मानेका छन् ।
ओली भाषण गरेर हिडेपछि हंगामा
वैठक सुरु भएपछि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुइघण्टा लामो भाषण गरेर बाहिरीएपछि सहभागीहरुले आपत्ती जनाएका थिए । भाषण गर्ने अन्य नेताहरुको कुरा नसुन्ने भन्दै हंगामा गरेका थिए ।
वैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयलाई अलग एजेण्डा नराखिएकोमा तीन दर्जन नेताले उठेर आपत्ति जनाउनु भएको थियो । अध्यक्ष ओलीले भाषण गरेर हिँड्नु भए लगतै ‘कार्यकारी अध्यक्ष’ प्रचण्डले बैठक अघि बढाउन खोज्दा केन्द्रीय सदस्यहरु उठेर कार्यसूची सच्याउन माग गर्नु भयो । महासचिव विष्णु पौडेलले बैठकका कार्यसूची सुनाउन थालेपछि भीम रावल, अष्टलक्ष्मी शाक्यसहितका नेताहरुले केही विषय अलग एजेण्डासहित छलफल हुनुपर्ने माग गर्नु भयो ।
एमसीसीको विषय राजनीतिक प्रतिवेदनमा सामान्य रुपमा उल्लेख भएको भन्दै केन्द्रीय कमिटीमा यसलाई अलग्गै एजेण्डाका रुपमा छलफल हुनुपर्ने माग अधिकांश सदस्यको थियो । त्यस्तै पोलिटव्यूरो गठनको एजेण्डा पनि अलग्गै चाहिने भन्दै यही केन्द्रीय कमिटीबाट पोलिटव्यूरो गठन हुनुपर्ने उनीहरुको माग छ ।
केन्द्रीय सदस्यहरुले कालापानीमा सीमा अतिक्रमणको विषय पनि अलग्गै एजेण्डामा छलफल हुनुपर्ने माग गरेका छन् । महिला नेताहरुले ३३ प्रतिशत प्रतिनिधित्वको विषयलाई एजेण्डा बनाउन माग गरेका छन् ।


