काठमाडौ ११ माघ । प्रमुख प्रतिपक्षी दल कांग्रेसमा देखिएको किचलो मत्थर हुने Οभएको छ । पौडेल–सिटौला समूहको दबाब थेग्न नसकेपछि गत ११ पुसमा गरिएको बहुमतको निर्णयबाट सभापति शेरबहादुर देउवा पछाडि हटेका छन् । २६ मंसिरमा केन्द्रीय समिति बैठक सुरु भएदेखि नै पौडेल–सिटौला पक्षको बहिष्कारका बीच संस्थापनले बहुमतबाट १४औँ महाधिवेशनको कार्यतालिका, विभाग गठन, क्रियाशील सदस्यका विषयमा विधानको धारा निलम्बनजस्ता महत्वपूर्ण निर्णय गरेको थियो । यसपछि कांग्रेसमा आपसी तिक्तता झन् बढेर गएको थियो ।
एक महिना लामो कसरतपछि बहुमतको निर्णयलाई सच्याउँदै महाधिवेशन गर्ने मुख्य मिति (२०७७ फागुन ७ देखि १०) बाहेकका कार्यतालिकाका अरू विषयमा परिमार्जन गर्न सभापति देउवा तयार भएका हुन् । अब तीन दिनमा महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू डा. मीनेन्द्र रिजाल र रमेश लेखकले महाधिवेशनको बाँकी कार्यविधि र कार्यतालिकालाई परिमार्जन गरेर १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्ने भएका छन् ।
देउवानिवास बूढानीलकण्ठमा शुक्रबार दिनभर भएको शीर्ष तहको वार्तामा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए । ‘१४औँ महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने र बाँकी विषयमा कार्यविधि र कार्यतालिकामा छलफल गरी परिमार्जनको प्रस्ताव १३ माघमा बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्छौँ,’ महामन्त्री पूर्णबहादुर खड्काले नयाँ पत्रिकासँग भने, ‘क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र यसअघि केन्द्रीय समितिको निर्णयअनुसार नेविसंघको तदर्थ समिति गठन गर्ने समझदारी भएको छ ।
छलफलमा सहभागी नेता सिटौलाले निष्पक्ष महाधिवेशन हुने गरी कार्यतालिका परिमार्जन गरी केन्द्रीय समितिमा प्रस्ताव पेस गर्ने समझदारी भएको जानकारी दिए । ‘फागुन ७ ऐतिहासिक दिन भएकाले पनि महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म गर्ने, तर महाधिवेशन निष्पक्ष, सुनिश्चित हुने ग्यारेन्टीका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्न र कार्यतालिका परिमार्जनसम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा ल्याउने समझदारी भएको छ,’ सिटौलाले भने, ‘बहुमतको निर्णयले संकट गहिरिएर गएको थियो । अब प्रतिस्पर्धा स्वच्छ महाधिवेशन निष्पक्ष बनाएर एकताको महाधिवेशनमा जानुपर्छ ।’
छलफलमा सहभागी नेता रिजालले अब १३ माघसम्म परिमार्जनको प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस हुने जानकारी दिए । ‘हामीसँग अझै तीन दिन बाँकी छ । यसबीचमा महाधिवेशको मुख्य मितिबाहेक कार्यविधि र कार्यतालिकालाई संशोधन गर्ने गरी हामी प्रस्ताव तयार गर्न लाग्छौँ ।’
कार्यतालिकासँग नमिल्ने धारा मात्र निलम्बन
यसअघि क्रियाशील सदस्यताको विषयमा धारा निलम्बन भएकोप्रति संस्थापन इतर पक्षले असन्तुष्टि जनाउँदै आएका थिए । शुक्रबार पहिलेको विधानको धारा निलम्बन सबै फुकुवा नभएको नेता लेखकले जानकारी दिए । ‘विधानको धारा निलम्बनको विषय कार्यतालिकासँग जोडिन्छ,’ उनले भने, ‘कार्यतालिका बनाउँदा कुन धारा निलम्बन हुने वा नहुने टुंगो लाग्छ ।’
नयाँ पत्रीकाबाट


