अग्नि सापकोटा सभामुखको उम्मेदवार

काठमाडौं, ६ माघ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको सचिवालय बैठकमा सापकोटाको नाम सर्बसम्मत अनुमोदन भएको हो ।

आइतबार बिहान बालुवाटार मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो। बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा राजीनामा दिएपछि सो पद रिक्त थियो ।

नेकपामा सहमति जुट्न नसक्दा ३ पटक प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो । नेकपाका महासचिव विष्णु पौडेलले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको जानकारी दिए । उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने पनि जानकारी दिए ।

सापकोटाको यात्रा
सिन्धुपाल्चोक स्थित कुभिण्डे गाउँमा २०१४ फागुन २४ मा जन्मिएका सापकोटा वि.सं २०२९ सालमा विद्यार्थी सङ्गठनमा आवद्व भएर राजनीतिमा लागेका हुन् । सापकोटाको औपचारिक अध्ययन समाजशास्त्रमा स्नातकोत्तरसम्म गरेका सापकाटोले १५ वर्षसम्म शिक्षण गरे ।

७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्याकपक भएर सेवा गरे । वि.सं २०३७ मा शिक्षक सङ्घर्ष समितिको सदस्य हुदै जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्षसम्म भए ।

सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । तर, पराजित भए । शिक्षकबाट राजिनामा दिएपछि सापकोटा पूर्णकालीन राजनीतिमा लागे । ०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए ।

शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा सभासद निर्वाचित उनी ०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित बहालवाला सांसद हुन् ।  जनयुद्धको समयमा उनले आफ्ना तीनजना भतिजा भतिजीलाई गुमाएका थिए। उनका कान्छो भाइ कृष्णप्रसाद सापकोटाकी छोरी शुभद्रा सापकोटा, जेठो दाजुका दुईवटा छोरा रेवती सापकोटा र प्रेम सापकोटा जनयुद्धकै बेला मारिएका थिए।

सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा उनलाई समेत गोली लागेको थियो। त्यतिबेला उनी क्षेत्रीय ब्युरो इन्चार्ज थिए। सापकोटा २ पटक मन्त्री भइसकेका छन्। उनले सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्।

संविधानसभा निर्वाचनमा आफ्ना प्रतिस्पर्धीलाई धेरै मतान्तरले जित्ने १० जनामा सापकोटा पनि पर्छन्। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाका स्थायी समिति सदस्य एवम् सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका संयोजकसमेत रहेका छन् ।

सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र हुन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् ।

सापकोटाकाे संक्षिप्त व्यक्तिगत विवरण:

जन्म मिति/स्थानः २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुभिण्डे गाउँ
आमाको नामः तिलमाया सापकोटा
बुबाको नामः धनपति सापकोटा
स्थायी ठेगानाः चौतारा साँगाचोकगढी-४, सिन्धुपाल्चोक
शैक्षिक योग्यता: स्नातक, त्रिभुवन विश्वविद्यालय
पारिवारिक स्थितिः श्रीमती, तीन छोरा

पेसा र अनुभवः

१५ वर्ष अध्यापन, (७ वर्ष माध्यमिक विद्यालयको प्रधानाध्यापक)
वि.सं. २०३५ साल नेकपा (चौथो महाधिवेशन)

पार्टी जिम्मेवारीः

स्थायी समिति सदस्य, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

राजकीय जिम्मेवारीः

वि.सं. २०६४ – चैत्र २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निकटतम प्रतिद्धन्द्धीभन्दा २० हजार बढी मत (३०,१७५) ल्याइ निर्वाचित। देशभरि सर्वाधिक मत ल्याउने सातौं उम्मेद्वार। संविधानसभा सदस्यका रुपमा संविधान निर्माणमा सक्रियतापूर्वक क्रियाशील।
वि.सं. २०६८ – वैशाख २२ गते नेपाल सरकारको सूचना तथा सञ्चारमन्त्री
वि.सं. २०७० – सिन्धुपाल्चोक-२ बाट दोस्रो पटक संविधानसभा सदस्यमा निर्वाचित तत्कालीन बागमती अञ्चलबाट तत्कालीन एकीकृत नेकपा(माओवादी) बाट विजयी एकमात्र सांसद।
वि.सं. २०७३ – वन तथा भू-संरक्षणमन्त्री
वि.सं. २०७४ – प्रतिनिधिसभा सदस्यमा विजयी, सिन्धुपाल्चोक-१, लगातार तीनपटक संसद् सदस्यमा विजयी (ह्याट्रिक)

संक्षिप्त राजनीतिक जीवन

वि.सं. २०२९ – सालमा विद्यार्थी सङ्‌गठनमा आवद्व
वि.सं. २०३५ – पार्टी सदस्यता (नेकपा चौथो महाधिवेशन)
वि.सं. २०३७ – शिक्षक सङ्‌घर्ष समितिको सदस्य (ने.रा.शि.सं) जिल्ला उपाध्यक्ष, अध्यक्ष हुँदै ने.रा.शि.सं को केन्द्रीय महासचिव र उपाध्यक्ष
वि.सं. २०४८ – शिक्षकबाट राजीनामा दिई पूर्णकालीन राजनीतिमा सक्रिय, २०४९ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य
वि.सं. २०५१ – मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य, २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य, २०५२ माघदेखि भूमिगत
वि.सं. २०५२ – फागुनबाट सुरु जनयुद्वको नेतृत्वमा, पूर्वी उपक्षेत्रिय ब्युरो इन्चार्ज, २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्व्युरो सदस्यमा निर्वाचित
वि.सं. २०५८ – पार्टीबाट गठन गरिएको ३ सदस्यीय वार्ता टोलीमा रही सरकारसँग वार्तामा सहभागी
वि.सं. २०६२ – चैत्र १४ गते सिन्धुपाल्चोक ठोकर्पामा आयोजित कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली ३ ठाँउमा लागि गम्भीर घाइते
वि.सं. २०६२/२०६३ – दोस्रो जनआन्दोलनमा उपत्यका वरिपरिका जनतालाई जनआन्दोलनमा परिचालनको नेतृत्व
वि.सं. २०६९ – साल माघमा भएको एकीकृत नेकपा (माओवादी) को हेटौंडा महाधिवेशनबाट पोलिट्व्युरो सदस्य
वि.सं. २०६९ – साउनमा एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ता
वि.सं. २०७१ – मा भएको विराटनगर सम्मेलनबाट स्थायी समिति सदस्य
वि.सं. २०७३ – नेकपा (माओवादी केन्द्र)को कार्यालय सदस्य
वि.सं. २०७५ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति सदस्य

ताजा अपडेट