चलचित्र चल्न छाडेपछि हल सञ्चालन गर्न कठिन

 

शालिग्राम नेपाल
चितवन २ माघ । चलचित्र चल्न छाडेपछि चितवनका सिनेमा घरहरु सञ्चालन गर्न कठिन भएको छ । करोडौ लगानी गरेर आधुनिक तरिकाले निर्माण गरेको हलमा दर्शकको सख्या न्युन हुन थालेपछि केही हलहरु त बन्द हुन थालेका हुन् ।
चितवनको नारायणगढमा सञ्चालनमा आएको केएल मलको हल र गणेश चलचित्र मन्दिर बन्द भएको छ । गणेश चलचित्र मन्दिरले नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्ने भनिएपनि अझै चल्न सकेको छैन ।
त्यस्तै गरी नारायणगढको लायन्सचोकमा रहेको केएल मलमा रहेको आधुनिक डिजिटल हलमा दर्शन नआएपनि अहिले बन्द भएको छ । यी केही वर्ष अगाडि मात्र बन्द भएका हलहरु हुन् । नयाँ व्यवस्थापनका साथ डिजिटल प्रविधिमा सञ्चालनमा रहेका, नयाँ खुलेका हलहरुमा पनि चलचित्र नचलेपछि कसरी हल चलाउने भन्ने दोधारमा सञ्चालकहरु रहेका छन् ।
छ महिनादेखि चितवनको सिनेमा घरमा दर्शक आउन छाडेपछि उनीहरु चिन्तामा परेका हुन् । दसैंमा ‘छ माया छपक्कै’ हेर्न दर्शक आएपनि त्यो भन्दा अगाडि र पछाडि चलेका कुनैपनि चलचित्रले व्यापार गर्न सकेको छैन । नारायणगढको इन्द्रदेव चलचित्रका व्यवस्थापक हरि रेग्मीले भन्नु भयो ‘करोडौ लगानी गरेर हल बनाएका छौ तर चलचित्र हेर्ने दर्शक नआउदा तनावमा छौ ।’ गएको छ महिनादेखि हिन्दी नेपाली कुनैपनि चलचित्र हेर्न दर्शक आएका छैनन् ।
दसैंमा रिलिज भएको ‘छ माया छपक्कै’ मात्र चलेको छ त्यो पछि कुनैपनि चलचित्र एकहप्ता टिकेको छैन उहाले भन्नु भयो । भर्खरै रिलिज भएको दवंग ३ ले पनि व्यापार गर्न सकेन, हलमा दर्शक आउछ छाडे । उपाय खेजी गरिएन भने हल बन्द गर्नुको विकल्प अरु छैन उहाले भन्नु भयो । नयाँ फिल्म नचलेपछि फेरि छ माया छपक्कै चलाएका छौ उहाले भन्नु भयो ।
आधुनिक डिजिटल प्रविधिको प्रयोग गरेर इन्द्रदेव घर निर्माण गरिएको थियो । सात सय सिट क्षमता भएको हलमा मुस्किलले १० जना पुग्ने गरेको उहाले बताउनु भयो । भरतपुरको सिजि कम्प्लेक्समा रहेको सिनेफ्लेक्सका सञ्चालक सागर खड्काले भन्नु भयो ‘राम्रो चलचित्र भए मात्र दर्शक हलमा आउने छन् होइन भने हल चल्दैन ।’ करोडौ लगानी गरेर निर्माण गरेको हल चल्नको लागि चलचित्र राम्रो बन्नु पर्दछ । नेपाली चलचित्र धेरै चलेका छैनन् । पछिल्लो समय नेपाली चलचित्र राम्रो नआएकाले हलमा दर्शक आउन नसकेको उहाले बताउनु भयो । हिन्दी चलचित्र दवंगले केही दर्शक तानेपनि हलसम्म आउने दर्शको सख्या घटेको खड्काले बताउनु भयो ।
पूर्वी चितवनको म्याङगो जनज्योति सिनेमा हलको अवस्था अझ कमजोर रहेको छ । यहाँका सञ्चालक शिवप्रसाद उप्रेतीले भन्नु भयो लगानी गरेर हल बनायौ तर चलचित्र हेर्न दर्शक आउदैन । हलसम्म दर्शक तान्नलाई राम्रो चलचित्र निर्माण हुनु पर्दछ अहिले बनेका चलचित्र एक दिन पनि हलमा टिक्न नसकेको उहाले बताउनु भयो ।
रंग पत्रकार रवि अधिकारीले भन्नु भयो राम्रो चलचित्र निर्माण हुन नसक्नु, फुर्सदिला दर्शकको सख्या कमी हुनुले पनि चलचित्र चल्न सकेको छैन । अझ नेपाली चलचित्र निर्माणकर्ताहरु हचुवाको भरमा यस क्षेत्रमा आउदा राम्रो सिनेमा बन्न सकेको छैन त्यसैले जुन चलचित्र आएपनि उस्तै नराम्रो ,होला भनेर दर्शक हलमा आउदैनन् ।

 

 

शेयर गरौ

ताजा अपडेट