भरतपुर सरसफाइको एकसय ९३ औ शृङ्खला : जनप्रतिनिधि सरसफाइमा

चितवन २१ पुस । भरतपुर महानगरको एकसय ९३ औ शृङ्खला सोमबार पनि यस क्षेत्रमा सरसफाइ गरिएको छ ।
महानगरलाई सफा सुन्दर बनाउनको लागि वे ग्रुपले सञ्चालन गरेको सरसफाइ अभियान अहिलेको अवस्थामा आएको हो । सरसफाइमा ग्रुप सहित जनप्रतिनिधिहरु सहभागी भएका छन् ।
भरतपुर महानगरपालिकाले सरसफाई अभियान्ता वे ग्रुप, टोल सुधार समिति, जनप्रतिनिधि, महानगरपालिकाका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसँगको सहकार्यमा राजमार्ग तथा सडकहरूमा सरसफाई कार्यक्रमहरू साप्ताहिक रूपमा हरेक हप्ताको सोमबार अभियानको रूपमा गरिरहेको छ ।
सोमबार महानगरपालिका गेटदेखि चौबीसकोठीसम्मको दुइतर्फी सडक किनारहरू सरसफाई गरिएको छ । सरसफाईका क्रममा स्थानीयहरूलाई फोहरमैलाको सही व्यवस्थापन र विसर्जनबारे सचेतना प्रदान गरिने छ भने सडक पेटी तथा आसपासमा गरिएको अव्यवस्थित कार्यलाई रोक्न प्रेरित गर्ने गरिन्छ ।
सडक सरसफाईका क्रममा बाटोमा फालिएका फोहोर टिप्दै मेयर रेनु दाहालले नगर क्षेत्रको सरसफाई गर्नु सम्पूर्ण नगरवासीको सामुहिक दायित्व भएको भन्दै यही जागरण नगरवासीमा जगाउन आफू हरेक हप्ता फोहोर टिप्न सडकमा निस्किएको बताउनु भयो । मेयर दाहालले आफ्नो घर पसल वरपर, छरछिमेक र सार्वजनिक स्थानको सरसफाई सबैको सामुहिक प्रयासले मात्र पुरा हुने बताउनु भयो ।
भरतपुर महानगरपालिकाले नगरको सरसफाईलाई उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले फोहोर व्यवस्थापनमा सचेत र सजग हुन आग्रह गर्नुभयो । जथाभावी फोहोर फाल्ने, सडकपेटीमा व्यवसाय गर्ने र शहरको सौन्दर्यता बिगार्ने जो कोहीलाई महानगरपालिकाले कारबाही गर्ने बताउँदै उहाँले नियम उल्लंघन नगर्न आग्रह गर्नुभयो ।
साप्ताहिक सरसफाई अभियानमा नियमित सहभागी भई सहयोग गर्ने वे ग्रुप, टोलसुधार समितिहरू, जनप्रतिनिधिहरू, महानगरपालिकाका कर्मचारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबैलाई धन्यवाद दिँदै यस अभियानमा सधैंं सकृय हुन आग्रह गर्नुभयो ।
साप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिने बताउँदै भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रेमराज जोशीले जथाभावी फोहोरमैला गर्नेलाई कारवाही गरिने बताउनु भयो ।
सरसफाई अभियन्ता भोजनारायण कंडेलले १९३ औं शृंखलामा आइपुग्दा महानगरवासी सरसफार्ईप्रतिको सचेतना जागरण गरेको बताउँदै यस अभियानमा वे ग्रुपको सधैँ सकृय सहभागिता रहने बताउनु भयो ।
बिहान ७ बजे भरतपुर महानगर गेटबाट सुरू भएको सरसफाई तथा सचेतना साप्ताहिक कार्यक्रममा ३ सयभन्दा बढी सरसफाई अभियन्ताहरूको सहभागिता रहेको थियो । भरतपुर महानगरपालिकाले साप्ताहिक रूपमा प्रत्येक हप्ताको सोमबार सरसफाई अभियन्ताहरूसँगको सहकार्यमा सरसफाई तथा सचेतना कार्यक्रम गर्दै आएको छ ।

शेयर गरौ

ताजा अपडेट