चितवन २० पुस । जस्मिन पेन्ट्स प्रालिले नेपाल पत्रकार महासंघ चितवन शाखालाई अक्षय कोषको लागि आर्थिक सहयोग गरेको छ ।
मनकामना ग्रुप अन्तर्गतको जस्मिन पेन्ट्सले महासंघलाई एकलाख ११ हजार एक सय ११ रुपैयांँको चेक हस्तान्तरण गरेको हो । मनकामना कम्पनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक लक्ष्मण अर्यालले महासंघका अध्यक्ष राधेश्याम खतिवडालाई चेक हस्तान्तरण गर्नु भएको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको कम्पनीका निर्देशक अर्यालले जानकारी दिनु भयो । रकम हालै स्थापित पत्रकार कल्याणकोषको लागि जम्मा गरिनेछ । पेन्ट्सले अघिल्लो साता काठमाडौमा मनाएको आफ्नो रजत जयन्तीको अवसरमा अन्य विभिन्न संघसंस्थालाई सहयोग रकमको समेत घोषणा गरेको थियो ।
जसअनुसार चितवनमा महिला बालबालिकाको संरक्षण गर्दै आएको संस्था आदर्श गृहलाई तीनलाख ११ हजार एकसय ११, सूचना प्रविधिको क्षेत्रमा कामगर्ने महावीर पुनको फाउण्डेसनलाई दुइलाख ५० हजार, चितवनमा संचालित बेसाहारा मानवको सहयोगार्थ मानव सेवा आश्रमलाई एकलाख ५५ हजार पाँचसय ५५ सहयोग रकम घोषणा गरिएको थियो । यसैगरी चितवनमा निमार्णाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाका लागि १० लाख बराबरको लागि रंगरोगन सामग्री हस्तान्तरण गर्ने अर्यालले जानकारी दिनु भयो ।
चितवनमै पहिलोपटक भरतपुर महानगरपालिका वडा नम्बर ४ मा सञ्चालित पेन्ट्सले घरायसी प्रयोजनका रंगरोगनका सामग्री एवं अन्य केमिकलका सामग्री उत्पादन गर्दै आएको छ । २०५१ सालमा स्थापना भएको यस कम्पनीले आधा दर्जन उद्योगहरु सञ्चालनमा ल्याएको छ ।
मनकामना ग्रुपले अहिले जस्मिन पेन्ट्स, जगदम्बा फाउण्डेसन, दरबार फुड्स, सन केमिकल, टाटा मेटल क्राफ्टस, एभोकाडो इन्टरनेशनल ट्रेडिङ लगायतका कम्पनी सञ्चालित छन । पेन्ट्स कम्पनी यस अघि नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१८, इन्टरनेशनल वीड क्वान्टीटी एचिभमेन्ट अवार्ड २०१८ लण्डन बाट सम्मानित भइसकेको छ । यी सबै कम्पनीबाट बार्षिक ३ अर्ब बराबरको कारोबार गर्दै आएको अर्यालले जानकारी दिनु भयो । सबै उद्योगमा गरी करीब चारसय जनाले प्रत्यक्ष रोजगारी पाएको उहाले बताउनु भयो । कम्पनीका उत्पादन नेपालभर बिक्री वितरण भईरहेको जनाएको छ ।


