देशले लिएको लक्ष्य हासिल गर्न गुणस्तरीय शिक्षा आवश्यक -राष्ट्रपति भण्डारी

चितवन समाचार डटकम
चितवन २२ माघ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताउनु भएको छ ।
चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । राष्ट्रपति भण्डारीले भन्न्नु भयो ‘अति कम विकसित देशबाट मध्यम आय स्तर भएको मुलुकमा जाने लक्ष्य लिएको नेपाललाई गुणस्तरीय शिक्षाको आवश्यकता छ ।’ नेपालले लिएको लक्ष्य अनुसार शिक्षण सस्थाले कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

राष्ट्रले लिएको लक्ष्य अनुसार हिड्नको लागि देशका हरेक अंगले सोही अनुसार काम गर्नु पर्नेमा उहाले जोड दिनु भयो । देशको अमुल्य प्राकृतिक सम्पत्तिको रक्षा र त्यसको विकासमा पनि शिक्षाको खाँचो रहेको उल्लेख गर्नु भयो । नदी कटान रोक्ने, नारायणी नदीलाई व्यवस्थित पारी पानीको सक्दो उपयोग गरेर आम्दानी गर्न सकिने बताउनु भयो ।

कार्यक्रममा उहाले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताउनु भयो । शिक्षाले ज्ञान र सामाजिक चेतना प्रवाह गर्दै भातृत्व, सामाजिक सद्भाव र एकताको गहिरो सन्देश दिने भएकाले शैक्षिक संस्था यसमा संवेदनशील बन्नुपर्नेमा जोड दिनु भयो । राष्ट्रपति भण्डारीले समाजप्रति सामुदायिक विद्यालयको गहन दायित्व रहेको बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो ।

राज्यले सार्वजनिक शिक्षामा गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले बालबालिकालाई उच्चस्तरीय राष्ट्रिय भावनाबाट प्रेरित गर्न शिक्षा क्षेत्र संकल्पित हुनु पर्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले नदी कटानलाई रोकी बालुवा आदि स्रोतको संरक्षण गर्दै नजिकका जमीनको सदुपयोग गर्नुपर्ने औँल्याउनुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका मन्त्री थममाया थापाले सामुदायिक विद्यालयले शिक्षामा गरेको योगदानको प्रंशास गर्नु भयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य एवं माध्यमिक तहको शिक्षा निःशुल्क बनाउनेतर्फ सरकार लागेको बताउनुभयो । उहाँले शिक्षा जनताको अधिकार भएको बताउँदै शिक्षामा आमूल परिवर्तन गर्नु आवशयक रहेको उल्लेख गर्नुभयो । उहाले भोली संसदमा १०७ वटा कानुन पेश गर्न लागेको जानकारी दिनु भयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको विकासका लागि महानरले मेहनत गरेर काम गर्ने बताउनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद सापकोटाले प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्री अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट