नारायणी नदी किनारमा पर्यटन स्तम्भको सिलान्यास

चितवन १६ पुस । नारायणी नदी किनारमा आज पर्यटन स्तम्भको सिलान्यास गरिएको छ । भ्रमण वर्ष २०२० को पहिलो दिन भरतपुरबाट बाजागाजासहित गएपछि नदी किनारमा स्तम्भको सिलान्यास गरिएको हो । कार्यक्रमका बिच भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरको पर्यटन स्तम्भ शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा उहाँले नारायणी नदी किनारलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । उहाँले निजी क्षेत्रसँग साझेदारी गरेर नदी किनारलाई पर्यटकीय गन्तव्य बनाइन लागिएको बताउनुभयो ।

देशकै प्रमुख पर्यटकीय गन्तव्य चितवन, त्यसमा पनि नारायणी नदी किनारको विशेष महत्व रहेको हुनाले यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महानगर सदैव लागिरहने उहाँको भनाइ थियो । कार्यक्रममा प्रमुख दाहालले नदी किनारमा बन्न लागेको पर्यटन स्तम्भको निर्माण तीव्र गतिमा अगाडि बढाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तोकिएको समयभन्दा अगाडि नै महानगरको स्तम्भ सकिन्छ, अन्य महानगरका आयोजनाहरु पनि समयमै सकिने प्रतिबद्धता म यहाँ गर्न चाहन्छु ।’

शिलान्यास कार्यक्रममा उपप्रमुख पार्वती शाहले स्वागत मन्तव्य दिँदै भन्नुभयो, ‘चितवनको प्रमुख पर्यटकीय गन्तव्य भएको हुनाले यसको विकासमा भरतपुर महानगर लागिरहेको छ, सबैसँग हातेमालो गर्दै अघि बढ्ने छ ।’
कार्यक्रममा नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले निजी क्षेत्र र महानगरको साझेदारीमा नारायणी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने बताउनुभयो । कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेश सांसद विजय सुवेदीलगायतको सहभागीता रहेको थियो ।

शेयर गरौ

ताजा अपडेट