नयाँ वर्ष मनाउन चितवनका होटलमा भरिए पर्यटक

 
चितवन समाचार डटकम,
१५ पुस । अङग्रेजी नयाँ वर्ष मनाउनका लागि चितवनको पर्यटकीय क्षेत्रका होटलहरु पर्यटकले भरिएका छन् ।
मंगलबार दिउसोबाट नै यहाँका होटलमा आन्तरिक पर्यटकको भिड वढेको छ । गएको वर्ष भन्दा अहिले पर्यटकको सख्या वृद्धि भएको यहाँका होटल सञ्चालकहरुले जानकारी दिएका छन् । क्षेत्रीय होटल संघ पश्चिम चितवनका अध्यक्ष गणेश पौडेलले भन्नु भयो ‘नयाँ वर्ष मनाउनको लागि होटलमा पर्यटक भरिएका छन्, गएको वर्ष ७० प्रतिशत भरिने कोठाहरु अहिले सबै भरिएका छन् ।’ उहाँका अनुसार पश्चिम चितवनको पटिहानी, जगतपुर र मेघौली क्षेत्रका होटलमा मात्रै ६ सय कोठाहरु छन् । ती सबै कोठाहरु भरिएको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।
नयाँ वर्षको लागि भनेर नै एक महिनादेखि कोठा बुक भएको मेघौली सेराइ रिसोर्टका व्यवस्थापक बृज महतोले बताउनु भयो । ‘हाम्रो रिसोर्टमा अमेरिकन नै धेरै आउने भएकाले यहाँ पहिलानै बुक गरिएको हुन्छ’ उहाले भन्नु भयो ‘२९ वटा कोठा रहेको यहाँ आउने पर्यटकको लागि नयाँ वर्ष केन्द्रीत सास्कृतिक कार्यक्रम राखेका छौ ।’ थारु सास्कृतिक कार्यक्रम, यहाँको भेषभुसा प्रदर्शनी लगायतको कार्यक्रम मंगलबार साँझ देखाइने उहाले जानकारी दिनु भयो ।
पूर्वी चितवनको सौराहा क्षेत्रका सबै होटलहरुमा पर्यटक भरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले जानकारी दिनु भयो । ‘गएको वर्ष भन्दा अहिले पर्यटकको सख्या वृद्धि भएको छ, हात्ती महोत्सबको कार्यक्रम लम्बिएको कारणपनि पर्यटक आएका हुन् ’ उहाले भन्नु भयो ‘साँझ आएर कोठा पाउन सकिदैन, नयाँ वर्षको लागि दुइदिन अगाडिनै बुक गराउनु पर्दछ ।’
होटल संघको तथ्याङक अनुसार सौराहा क्षेत्रका होटलहरुमा पाँच हजार पाँचसय वटा कोठाहरु छन् । ती कोठा सबै भरिएको अध्यक्ष भट्टराइले जानकारी दिनु भयो । मंगलबार साँझ र वुधबार सौराहामा भ्रमण वर्ष विशेष कार्यक्रम आयोजना गरिएको छ । सेभेन स्टार होटल सौराहाका सञ्चालक माधव दुवाडीले भन्नु भयो विगतमा भन्दा अहिले पर्यटक वढेको छ । अङग्रेजी नयाँ वर्षमा विदेशी भन्दा नेपाली पर्यटकहरु धेरै आएका छन् उहाले भन्नु भयो ‘७० प्रतिशत नेपाली र बाँकी भारतीय, चिनिया पर्यटकहरु रहेका छन् ।’
चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले भन्नु भयो ‘नयाँ वर्षमा पर्यटकीय क्षेत्रमा आउने जस्तै अवस्था अरु समयमा हुने गरी कार्यक्रम गर्नु पर्दछ ।’ चितवनको पर्यटकीय क्षेत्रका होटलमा भरिएका अन्तरिक पर्यटको सङख्याले उत्साहित बनाएको बताउनु भयो । विगतका वर्षमा यो भन्दा थोरै रहेको थियो यस वर्ष बृद्धि भएका छन् उहाले भन्नु भयो । चितवन आउने पर्यटकलाई आइरहने वातावरण बनाउन नयाँ कार्यक्रम दिनु पर्ने सुझाब दिनु भयो । चितवनको सौराहा, मेघौली, कुरिनटारका होटलहरुमा आन्तरिक पर्यटकको भिड भएको पर्यटन विकास समितिका महासचिव सुवेदीले जानकारी दिनु भयो ।
नयाँ वर्ष केन्द्रीत गरी सौराहामा पप स्टारहरुको सास्कृतिक प्रस्तुती रहेको छ । त्यस्तै गरी भरतपुरको सिजि ल्याण्डमार्कमा पनि नेपाल आइडियलका गायकबाट सास्कृतिक कार्यक्रम राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट