चितवन समाचार डटकम,
११ पुस । तीन वटा जिल्लाका स्थानीय सरकारका प्रतिनिधिहरुलाई शैक्षिक व्यवस्थापन तथा गुणस्तरवृद्धि सम्वन्धी दुइदिने कार्यक्रम गैडाकोटमा शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीय पालिकाहरुको अधिकारमा आएको शिक्षा कार्यक्रम कसरी सञ्चालन भइराखेको छ, यसका कठिनाइहरुलाई कसरी समाधान गर्न सकिन्छ भन्नको लागि कार्यक्रम भएको हो । शिक्षा विज्ञान प्रविधि मन्त्रालयको आयोजनामा ३ नम्बर प्रदेशका धादिङ, मकवानपुर र चितवनका सबै पालिका प्रमुख तथा प्रशासन प्रमुखहरु कार्यक्रममा सहभागी हुनु भएको छ ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालले विद्यालयको व्यवस्थापनको सबै अधिकार स्थानीय तहमा आएकाले त्यसको उपयोग गर्नु पर्ने बताउनु भयो । ‘केन्द्रमा भएका अधिकारहरु कटौती भएर स्थानीयमा आएको छ, त्यसलाई अधिकतम उपयोग गरेर शिक्षाको गुणस्तर वृद्धि गर्नु पर्दछ ’ उहाले भन्नु भयो ।
माघ मसान्तसम्म देशै भरीका स्थानीय तहका प्रमुखहरुसंग शिक्षा सम्वन्धी सुझाब संकलन सक्ने तयारी रहेको उहाले जानकारी दिनु भयो । जारी भएको नयाँ शिक्षा ऐनमा नसमेटिएका विषयहरु यस्तै कार्यक्रम मार्फत संकलन पनि गर्दै छौ यहाँबाट आएका सुझाबलाई थप्ने तयारी छ उहाले भन्नु भयो ।
बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणाली भयो भन्ने समस्यालाई समाधान गर्न अहिले सरकार लागि परेको छ । ७० प्रतिशत प्राविधिक शिक्षा ३० प्रतिशत साधारण शिक्षा दिने गरी तयारी गरेका छौ । देशमा एउटा पनि उच्च शिक्षा ऐन छैन त्यसलाई हामीले बनाउने तयारी गरेका छौ । विद्यालय शिक्षा र प्राविधिक शिक्षा ऐन गरी तीन वटा ऐन निर्माण गर्दैछौ ।
विगतका सरकारले भन्दा अहिले शिक्षामा बजेट तथा कार्यक्रम वृद्धि भएकाले गुणस्तरमा सुधार आउने तयारी रहेको उहाले जानकारी दिनु भयो । सरकारले अहिले शिक्षामा मात्रै १०.३ प्रतिशत बजेट छुट्टाएको छ । विद्यालयको गुणस्तर बृद्धि गरी यसै वर्ष भित्रमा ४२२ नमुना विद्यालय पु¥याउने तयारी रहेको जानकारी दिनु भयो । हिजोको भन्दा अहिले प्राविधिक शिक्षामा सुधार गरेको जानकारी दिदै उहाले छ ६ सय ७ वटा स्थानीय तहमा प्राविधिक शिक्षा पुगेको बताउनु भयो ।
विद्यार्थी थोरै भएका विद्यालयहरु गाभेर एउटैमा २ देखि ३ हजार विद्यार्थी पठाउने गरी व्यवस्था गर्न लागेको जानकारी दिनु भयो । सवारी साधान वा पैदलबाट धेरैमा एक घण्टाको दुरीमा पुग्ने गरी विद्यालय गाभ्ने तयारी भएको छ । अहिले भइराखेको विद्यालयहरु मध्य ५० प्रतिशत विद्यालय गाभेर बनाएमा विद्यार्थी थोरै हुने लगानी खेर गइरहने समस्या हल गर्न सक्ने बताउनु भयो ।
तीन वटा जिल्लाबाट भेला भएका प्रमुख तथा प्रशासकीय प्रमुखहरुलाई शिक्षाको विषयमा विकेन्द्रीकरण विज्ञ कृष्णप्रसाद सापकोटा, शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्री, शिक्षा विज्ञहरु डाक्टर तुलसीप्रसाद थपलिया, घनश्याम अर्याल, खगेन्द्र दाहाललगायतले प्रशिक्षण दिनु हुने छ । कार्यक्रम शनिबार सकिन्छ ।


