वागीश्वरीको प्राकृतिक चिकित्सालयमा जोगीको आक्रमण : सुरक्षाको माग गर्दै समितिका पदाधिकारी

सुदेश खनाल

चितवन ८ पुस । चितवनको वागीश्वरी आध्यात्मिक परिषद योगी नरहरिनाथ आश्रममा रहेका जोगीहरुले समितिका पदाधिकारी माथि ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका छन् ।
परिषदले मंगलबार नारायणगढमा पत्रकार सम्मेलन गरी आश्रममा बस्दै आएका जोगीहरुले समितिको वैठक बसिरहेको समयमा ४०÷५० जनाको सख्यामा जोगीहरु आएर ज्यान मार्ने धम्की दिदै आक्रमण गरेको जानकारी गराएको छ । समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले भन्नु भयो ‘नियमित बैठकमा सोमबार बसेका थियौ एक्कासी आएर ब्याग्र वेदनाथ (प्रभन्जन बहादुर सिंह)को नेतृत्वमा आएको जोगीले आक्रमण गरे ।’ आश्रममा जोगीहरु बस्ने अलगै घर निर्माण गरिएको छ । त्यस आश्रममा जोगीलाई खाने बस्ने व्यवस्था समितिले गर्दै आएको छ ।
योगी नरहरिनाथ अश्रमले केही वर्षदेखि प्राकृतिक चिकित्सालय सञ्चालन गरी विरामीको उपचार गर्दै आएको छ । चिकित्सालय सञ्चालन गर्न नपाउने, आफूहरुलाई पैसा दिनु पर्ने जस्ता कुरा राख्दै समितिका पदाधिकारी, विरामी, उपचारमा संलग्न डाक्टरलाई समेत आक्रमण गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । परिषदका वैठक बस्न नदिने, गालीगलौज गर्ने, ज्यान मार्ने धम्की दिने र जोगीको आक्रमणबाट परिषदका व्यवस्थापक युवराज लम्साल, सल्लाहकार ऋषिराज पाण्डे, डाक्टर हेमराज कोइराला, डाक्टरका परिवारलाई समेत आक्रमण गरेर घाइते बनाएको अध्यक्ष पियाले जानकारी दिनु भयो ।
परिषदका सल्लाहकार ऋषिराज पाण्डेले भन्नु भयो ‘जोगीको नेतृत्व व्याग्रले गर्नु भएको छ, उहा र निरन्जननाथको अगुवाइमा आक्रमण भएको हो ।’ जोगीको रुपमा अनैतिक कृयाकलाप गर्दै आएपनि सुध्रिने छन् भन्दै मौका दिदा अहिले अस्पतालनै सञ्चालन गर्न नदिने गरी आक्रमण भएको पाण्डेले बताउनु भयो । सोमबार आक्रमण भएपछि समितिका सदस्यहरु, कर्मचारी, चिकित्सक सुरक्षित स्थानमा गएर बसेको उहाले बताउनु भयो ।
जोगीहरुको आक्रमणपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले भन्नु भयो ‘उजुरी परेपछि हामीले नियन्त्रणमा लिएर अब आक्रमण गर्ने सर्तमा छाडेका छौ ।’ योगी नरहरिनाथ आश्रममा गौसंरक्षण केन्द्र, योगा अभ्यास, १५ शैयाको प्राकृतिक चिकित्सालय, जोगीको बासस्थान कुटी, सस्कृत पाठशाला सञ्चालनमा रहेको छ । प्राकृतिक चिकित्सालयको क्षमता वृद्धि गरी २५ शैयाको बनाउन प्रदेश सरकारले अनुमती र सहयोग गर्ने तयारी भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । प्राकृतिक चिकित्सालय योगी नरहरिनाथ देवघाटको वन क्षेत्रमा रहेको छ । यस वनलाई धार्मिक वनको रुपमा सरकारले घोषणा गरेको छ ।

शेयर गरौ

ताजा अपडेट