चितवन १ पुस । ३ नं. प्रदेशका समाजिक विकास मन्त्री युवराज दुललाले शिक्षामा दुइवर्ष भित्र आमुल परिवर्तन ल्याउने बताउनु भएको छ ।
श्री माध्यमिक विद्यालय गौरिगञ्जको निरीक्षणपछि विद्यालयमा सम्वोधन गर्दै उहाले प्रदेश सरकार गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि कटिवद्ध भएर लागेको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘सरकारी विद्यालयको शिक्षा कमजोर भयो भन्ने गुनासाहरु आएका छन् त्यसलाई हामीले ध्यान दिएर अगाडि वढेका छौ ।’
विद्यार्थी नभएका विद्यालयहरु समायोजन गरेर दरवन्दी मिलान गर्ने, विद्यालयमा नर्सको व्यवस्था गर्ने, सरकारी विद्यालयमा स्कुल बसको व्यवस्था गर्ने लगायतको नीति सरकारले लिएको जानकारी दिनु भयो । चितवनको विभिन्न शिक्षालयहरु निरीक्षणका क्रममा रहनु भएकाले मन्त्री दुलालले शिक्षाको गुणस्तरमा आफू गम्भिर भएर लागेको जानकारी दिनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ८ का अध्यक्ष दामोदर न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु वास्तोला, पूर्व अध्यक्षहरु पूर्णबहादुर रानाभाट, जगन्नाथ कडेल, धर्मबहादुर कार्कीलगायतले मन्तव्य राख्नु भएको थियो ।


