चितवन, २७ मंसिर । चितवनमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाँउपालिकामा पर्ने राजमार्गमा सवारीसाधन आफै अनियन्त्रित भई दुर्घटनामा हुदा ३५ जना घाइते भएका हुन् । । चितवनको इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा चारवटा सवारीसाधन एक आपसमा ठोक्किएको थियो ।
फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ ज ८३२८ नम्वरको म्याजिक विपरित दिशावाट जाँदै गरेको बा २१ च ३०३९, बा ६ च ८३४५ नम्वरको स्कारपियो र ना १ ज ८००५ नम्वरको म्याजिक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । घाइते सबै म्याजिकमा सवार भएका थिए । घाइतेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको छ । चारवटै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् ।
यस्तै इच्छाकामना ४ कुरिनटारमै गुडिरहेको बस अनियन्त्रित भई पल्टदाँ ११ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार काठमाडौंबाट बुटबल जाँदै गरेको लु २ ख १५७९ नम्बरको बस आफै अनियन्त्रित भएर पल्टिएको थियो । घाइतेहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइराखेको छ । घाइते मध्य एक जनाको अवस्था गम्भिर र अन्यको सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
यस्तै चितवनको राप्ती नगरपालिका ६ हर्दीमा बस अनियन्त्रित भई पल्टदाँ १८ जना यात्रु घाइते भएका छन् । विरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख ८४९० नम्बरको बस आफै अनियन्त्रित भई पल्टेको हो । दुर्घटनामा बसमा सबार २३ जना मध्य १८ जना घाइते भएका छन् ।


