चितवन २६ मंसिर । रत्ननगर नगरपालिका वडा नं ५, टरौलीमा सामाजिक विकृतिविरूद्ध सडक नाटक देखाइएको छ । रिड नेपाल र फ्री दी सेल्भ नामक संस्थाको सहयोगमा टरौली सामुदायिक पुस्तकालयले मानव बेचबिखन, ओसारपसार तथा आधुनिक दासत्वविरूद्धको चेतनामूलक सडक नाटक देखाइएको हो ।
नाटकमा अभिनय गरेका कलाकारहरुले मानव बेचबिखन, ओसारपसार तथा आधुनिक दासत्वले समाजमा निम्त्याउने संकट, यसको अन्त्यका लागि समुदायको भूमिका र सचेत हुनुपर्ने कारणलाई सहजरुपमा प्रस्तुत गरेको पुस्तकालयका अध्यक्ष सागर मिश्रले जानकारी दिए ।
नाटकमा समुन्नति किशोरी समूहकी अध्यक्ष शोभा घिमिरेको नेतृत्वमा १० जनाले अभिनय गरेका थिए । नाटक रत्ननगर ५ का चोकचोकमा र छिमेकी नगरपालिका खैरहनीका विभिन्न स्थानमा देखाइएको अध्यक्ष मिश्रले जानकारी दिए ।
पुस्तकालयले पुस्तकको अध्ययन गर्ने व्यवस्थासँगै समाजमा हुने सामाजिक विकृतिविरूद्ध अभियान सञ्चालन गर्दै आएको छ । ९ महिनाको अवधिमा सामाजिक विकृतिविरूद्धको सचेतनामूलक कार्यक्रम करिब ४ हजार जनाको माझमा पु¥याउने लक्ष्य रहेको अध्यक्ष मिश्रले बताए ।
वडाध्यक्ष कृष्ण महतो प्रमुख अतिथि रहेको नाटक उद्घाटन कार्यक्रममा वडा सदस्यहरु साहु महतो, छन्नु महतो, पुस्तकालयका कार्यक्रम संयोजक देवीप्रसाद अधिकारी, समुन्नति अक्षयकोष संयोजक हीरादेवी थापा, पुस्तकालय भवन निर्माण समिति उपाध्यक्ष कमला कार्की, सचिव विष्णुप्रसाद पौडेल, नगर बाल सञ्जाल अध्यक्ष रोनिशा घिमिरेलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजन पुस्तकालय व्यवस्थापन समितिका सचिब मधु नेपालले गर्नुभएको थियो ।


