चितवन समाचारडटकम, देवघाट माघ २२ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देवघाटधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकसीत गर्नुपर्ने बताउनुभएको छ ।
देवघाटधाम स्थित महेश सन्यास आश्रमको आयोजनामा आजदेखि शुरु भएको विराट ज्ञानमहायज्ञको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यो ठाँउ पुण्य भुमि भएकाले धार्मिक पर्यटनको प्रशस्त संभावना वोकेको बताउनुभयो ।
संस्कृत गुरुकुलमले मौलिक संस्कृति प्रवद्र्धनमा भुमिका खेलेको बताउदैं राष्ट्रपति भण्डारीले संस्कृत शिक्षा प्रति युवाहरुको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । यसलाई पनि समयानुकल लैजानु पर्छ, आकर्षण बढाउनु पर्छ उहाँले भन्नुभयो ।
यस क्षेत्रको विकासमा धर्मगुरु तथा विद्धानहरुले खेलेको भुमिकाको पनि उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले सरकार र नागरिकको संयुक्त प्रयासमा देवघाटलाई धार्मिक पर्यटनको हवको रुपमा विकसीत गर्नुपर्ने वताउनुभयो ।
सोही क्षेत्रका साँसद किसान श्रेष्ठले संसदीय विकास कोषवाट देवघाटको विकासका लागी रु ७५ लाख बजेट ब्यवस्था गरेको जानकारी दिनुभयो । यसले वाटो निर्माणमा मद्दत पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा साँसद कृष्णभक्त पोखरेल पनि अतिथी रहनुभएको थियो ।
एक भव्य धार्मिक समारोहका विच राष्ट्रपति भण्डारीले आज महायज्ञको समुद्घाटन गर्नुभएको हो । सो क्रममा आश्रमको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ । नवनिर्मित भवनमा कक्षा ६ देखि आचार्य सम्मको पठनपाठन हुने जनाइएको छ । राष्ट्रपति भण्डारी हेलिकप्टरमा चढेर विहान ११ बजे देवघाटधाम आईपुग्नुभएको हो । महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको उपलक्ष्यमा महायज्ञ गर्न लागिएको हो । महायज्ञमा प्रमुख कथा वाचकका रुपमा आश्रमका पिठाधीश १००८ स्वामी रमणानन्द गिरि रहनुभएको छ । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायण गरिनेछ । महायज्ञमा चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष्यहवन गरिने महायज्ञ मूल आयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताउनुभयो ।
सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्नेछ । यसअघि गुरुकूलले विसं २०६५ मा पहिलोपटक विराट ज्ञान महायज्ञको आयोजना गरेको थियो ।