काठमाडौं, १८ मंसिर । आन्तरिक असहयोगका कारण भर्खरै सम्पन्न उपनिर्वाचनमा धरान उपमहानगरको मेयर पद गुमाउनु परेको चर्चा चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय वैठकले उपनिर्वाचनमा कुनै घात नभएको निष्कर्ष निकालेको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी बनेको १४ दिनपछि बसेको नेकपा सचिवालय वैठकले यस्तो निष्कर्ष निकालेको हो । नेकपा सचिवालय वैठक भर्खरै सकिएको छ । बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
बैठकमा उपनिर्वाचनको मत परिणामबारे सामान्य समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात–प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने उनले जानकारी दिएका छन् ।
उनका अनुसार अर्को बैठक मंसिर २३ गते बस्ने जनाइएको छ । आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको छ । आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउनेबारेमा निर्णय लिनेछ ।
आजको सचिवालय बैठकमा ६ जना सदस्य उपस्थित थिए । प्रधानमन्त्री ओली उपचारका क्रममा छन् भने सचिवालय सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल पार्टी कामको शिलशिलामा इलाममा छन् ।


