चितवन समाचार डटकम
१२ मङसिर । आउदो १४ गते शनिबार हुने उपनिर्वाचनका लागि चितवनमा तयारी पूरा भएको छ ।
निर्वाचनका सामग्रीदेखि आवश्यक सुरक्षा व्यवस्थाको तयारी पूरा भएको हो । भरतपुर महानगरपालिकाको वडा नं. १६, खैरहनी नगरपालिकाको वडा नंं ४ र ५मा हुने निर्वाचनका लागि मतदान स्थलको व्यवस्थापन, केन्द्रहरुमा प्रतिनिधि तथा सुरक्षा व्यवस्थाको सबै तयारी पूरा भएको हो ।
जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरिप्रसाद ढकालले भन्नु भयो ‘व्यवस्थापनको तयारी सबै पूरा भएको छ, विहीबार मतदाता परिचय पत्र वितरणको तयारी गरेका थियौ, मतदाता नआएपछि शुक्रबार विहानदेखि वितरण गर्दै छौ ।’ मतदान स्थलमा मतदाताको लागि लाइन लाग्ने स्थान निर्माण, सामग्रीहरुको व्यवस्थापन गरिसकेको उहाले बताउनु भयो । मतपत्र जिल्लामा आइसकेको, अन्य निर्वाचनको सामग्री तयारी अवस्थामा रहेको ढकालले जानकारी दिनु भयो ।
कार्यालयका अनुसार ३ वटा वडाको ६ स्थानमा मतदान हुदैछ । १५ वटा निर्वाचन केन्द्रबाट मतदान हुने व्यवस्था मिलाइएको छ । महानगरको वडा नं. १६ मा तीन स्थानको १० वटा केन्द्रबाट मतदान हुने व्यवस्था रहेको छ । यहाँ आठ हजार ४८१ जना मतदाता रहेका छन् । खैरहनी नगरपालिकाको वडा नं. ४ मा दुइ स्थानको तीन केन्द्रबाट मतदान हुदैछ । यहाँ दुइ हजार ६९२ जना मतदाता रहेका छन् । त्यस्तै खैरहनी नगरपालिका वडा नं. ५ मा एक स्थान दुइ केन्द्र रहेको छ । यहाँ दुइहजार १११ जना मतदाता रहेका छन् । मतदान स्थल र मतदान केन्द्रमा कर्मचारीलाई खटाउने काम भइसकेको निर्वाचन अधिकारी ढकालले जानकारी दिनु भयो ।
जिल्लाको सुरक्षा व्यवस्था
उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले भन्नु भयो ‘निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्नको लागि तीन घेरामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले सुरक्षा दिनेछन् । ’ निर्वाचन हुने स्थानलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी विभाजजन गरेर त्यहाँ आवश्यकता अनुसारको पोशाकमा तथा सादा पोशाकमा प्रहरी खटाइएको उहाले जानकारी दिनु भयो । निर्वाचन हुने स्थानमा विहीबारदेखिनै सुरक्षाकर्मीले सुरक्षा दिएको बस्नेतले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा निर्वाचन कमाण्ड पोष्ट, सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा सेलको व्यवस्था गरेका छौ वस्नेतलले भन्नु भयो । वुधबार बेलुकादेखि आइतबार बेलुकासम्म निर्वाचन हुने क्षेत्र र त्यसको आसपासमा मादक पदार्थ उत्पादन, बिक्री र प्रयोगलाई निषेध गरिएको छ । शुक्रबार बेलुकादेखि शनिबार बेलुका ८ बजेसम्म निजी सवारी साधन, सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको र एकै स्थानमा ५ जना भन्दा धेरै मानिस भेला भएर कुराकानी गर्नसमेत निषेध गरेको प्रमुख जिल्ला अधिकारी वस्नेतले जानकारी दिनु भयो । निर्वाचनलाई भयरहित शान्ति रुपमा सम्पन्न गर्नको लागि आवश्यक सबै व्यवस्था मिलाइ सकेको उहाले बताउनु भयो ।
निर्वाचनको समाचार संकलन गर्न जाने सञ्चारकर्मी, मानवअधिकारकर्मी चढ्ने सवारी साधनको प्रशासन कार्यालयले पासको व्यवस्था गरेको छ । मतदान सकिने वितिकै सर्वदलिय बैठक बसी सोही दिन वेलुका नै मतगणना गर्ने तयारी रहेको छ । १४ गते हुने निर्वाचनमा ६ वटा राजनीतिक दलका १३ जना उमेद्वार चुनावी मैदानमा उत्रेका छन् ।


