काठमाडौ १२ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने र चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।
स्वास्थ्यमा तीव्र सुधार देखिएको भन्दै ओलीले बिहीबार ट्विटरमार्फत शुभेच्छा प्रकट गर्नेप्रति आभार जनाएका हुन् ।
उनले ट्विटरमार्फत भनेका छन्, ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

उनी अस्पताल भर्ना भएको आज तेस्रो दिनसँगै स्थास्थ्यमा पनि थप सुधार देखिएको छ । आईसीयूमा उपचाररत ओलीले पत्नी राधिकासहित सीमित व्यक्तिसँग भेटसमेत गरेका छन् ।
पेटमा अचानक समस्या आएपछि ओलीलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । सोही दिन एपेन्डिसाइटिसको शल्यक्रियापछि एक रात भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।


