काठमाडौं, १० मंसिर । सरकारले विद्यार्थी र अभिभावकबाट असुल गरिएको अतिरिक्त शुल्क तत्काल फिर्ता नगरे पक्राउ गरी कार्वाही गर्ने चेतावनी दिए पनि मेडिकल सञ्चालनहरुले सरकारको चेतावनीको वेवास्ता गरेका छन् ।
सरकारले आजसम्म विद्यार्थीहरुबाट असुलेको अतिरिक्त शुल्क फिर्ता गर्नका लागि मेडिकल सञ्चालकहरुलाई समय दिएको थियो । समय सीमाभित्र अतिरिक्त शुल्क फिर्ता नभए पक्राउ गरी ठगीको मुद्दा चलाउने सरकारले चेतावनी दिएको थियो । तर निजी मेडिकल सञ्चालकहरुले सरकारको चेतावनीलाई वेवास्ता गर्दै उल्टै अतिरिक्त शुल्क फिर्ता नहुने जिकिर गरेका छन् ।
निजी मेडिकल कलेजहरुले एमबीबीएस पढाइका लागि विद्यार्थीहरुले तिरेको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने अडान सरकार समक्ष राखेका छन् । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई भेटी उनीहरुले आफूहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न नसक्ने बताएका हुन् ।
आफूहरुले विद्यार्थी भर्ना गरिसकेपछि सरकारले नयाँ शुल्क निर्धारण गरेको र गत आर्थिक वर्षमा विद्यार्थीले तिरेको शुल्कमध्येबाटै सरकारलाई राजश्व, विश्वविद्यालय र मेडिकल काउन्सिललाई तिर्नुपर्ने शुल्क तिरेकाले शुल्क फिर्ता गर्न नसक्ने जवाफ दिएका छन् ।
यता निजी मेडिकलका विद्यार्थी र अभिभावकहरु भने मेडिकल कलेजहरुले लिएको बढी शुल्क फिर्ता हुनुपर्ने माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले अहिले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका छन् ।


