अमिर रामदाम,
काठमाडौं, ९ मंसिर । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ को सरकार संघीय सरकारसँग टसल गरेर जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको प्रथम प्रदेश भेलामा बोल्दै उनले प्रदेश सरकारका लागि आवश्यक कानुनहरुको निर्माणको कामलाई अघि बढाएकाले संघीय सरकारसँग असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको तर्क गरे ।
मन्त्री जम्कट्टेलले प्रदेश सरकारको अधिकार दिने कुरामा पनि संघीय सरकारले कन्जुस्याईँ नगरेको बताए । ‘प्रदेश सरकारसँग टसल गरेर जाने पक्षमा प्रदेश ३ को सरकार छैन,’ मन्त्री जम्कट्टेलले भने, ‘प्रदेश सरकारलाई अधिकार दिलाउने गरी संघीय सरकारले आवश्यक कानुनहरुको निर्माण गरिरहेको छ ।’
मन्त्री जम्कट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । उनले “लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोज्नुपर्ने बताए ।”
मन्त्री जम्कट्टेलले मुलुकलाई समृद्ध बनाउने एजेन्डामा सबैलाई आवद्ध भएर अघि बढन पनि आह्वान गरे । व्यवस्था फेरियो, राज्य फेरियो, तर हाम्रो चालचलन फेरिएन, काम गर्ने शैली फेरिएन त्यसका लागि हाम्रो काम गर्ने पुरानो शैलीमा परिवर्तन हुनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रदेश नं ३ का सभासद् कल्पना नेपाली परियारले हामी दलित समुदायको पत्रकार एवं सञ्चारकर्मी भएका कारण दलित समुदायको समाचार प्रकाशन र प्रसारणका लागी प्राथमिकता दिनुपर्ने बताइन् ।
त्यस्तै राष्ट्रिय दलिल पत्रकार संघ, नेपालका अध्यक्ष तथा पूर्व सभासद् विनोद पहाडीले “दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफैँले उठाउनुपर्छ, त्यसैले पनि संघको आवश्यकता महसुस गरी स्थापना गरिएको ” बताए । उनले भने अब संघले कसैलाई विभेद नगरी सबैलाई गोलबद्ध बनाएर छाता संगठनको रूपमा कार्यसम्पादन गर्ने बताए । संघले सबै संघसंस्थासँग एकाकार भएर काम गर्ने उनले प्रतिबद्धता गरे ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राष्ट्रिय दलित पत्रकार संघले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पहिला पहिला पत्रकार महासंघलाई दिईरहेको अनुदान लगायतका सहयोगमा अहिलेको सरकारले महासंघलाई उपेक्षा गरेको आरोप लगाए । उनले अबका दिनमा पत्रकार महासंघ र यस संघ बीच समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रदेश ३ भेलाले चित्र मिजारको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति र सुशील दर्नालको अध्यक्षतामा १५ सदस्यीय उपत्यका समन्वय समिति काठमाडौं गठन गरेको छ ।
प्रदेश समितिको उपाध्यक्षमा कमल विश्वकर्मा, सचिवमा वसन्त परियार, सहसचिवमा सरोज उपरकोटी, कोषाध्यक्षमा शर्मिला विश्वकर्मा चयन भएका छन् भने
सदस्यहरुमा भोजराज विश्वकर्मा, सिताराम बयलकोटी, विश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर विक, संगम दर्जी, सुशिला विक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन् ।
त्यस्तै उपत्यका समन्वय समिति काठमाडौंको उपाध्यक्षमा गणेश वि.क, सचिवमा सन्दिप विश्वकर्मा, सहसचिवमा निरोज तालागङी, कोषाध्यक्षमा सुशीला विश्वकर्मा चयन भएका छन् भने सदस्यहरूमा पवन बराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन भएका छन् ।
उक्त भेलाले प्रदेश समितिको सदस्यमा १ जना र उपत्यका समन्वय समिति काठमाडौंको सदस्यमा ३ जनालाई मनोनित गरि समितिहरू पूर्णता गर्न म्याण्डेट समेत दिएको छ ।


