चितवन समाचार डटकम,
७ मङसिर । ३ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेलले अल्पसङख्यक चेपाङ समुदायको बैकल्पिक खेतीको व्यवस्था नगरेसम्म उनीहरुले लगाएको गाँजा फाडेर समस्या समाधान नहुने बताउनु भएको छ ।
नेपाल चेपाङ संघको ३ नं. प्रदेश स्तरीय अधिवेशनलाई शनिबार भरतपुरमा उद्घाटन गर्दै उहाले जीवन निर्वाहको लागि बाध्य भएर गाँजा खेती गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘प्रदेश सरकारको कानुन मन्त्री भएर गाँजा खेतीको सपोर्ट गरेको होइन, परम्परादेखि उनीहरु त्यही खेत गर्ने घरखर्च चलाउने गर्दै आएका हुन् ।’ सरकारले गाँजा खेतीलाई मान्यता दिएको छैन । जडिवुटीको रुपमा, खानको लागि र बिक्री गरेर थोरै आम्दानी गर्न उनीहरु बाध्य भएर यो खेती गरेका हुन् ।
गाँजाखेती फडानी गर्नु पूर्व उनीहरुलाई बैकल्पिक खेतीमा आकर्शण गर्न सक्नु पर्नेमा जोड दिनु भयो । उहाले भन्नु भयो आफ्ना अधिकार सरकारसंग माग्न नसक्ने, संविधानले दिएको अधिकार प्रयोग गर्नको लागि समस्या हुने समुदाय सामान्य गल्ती गर्नपनि ठुलो सजाय भोग्नु परेको बताउनु भयो ।
कार्यक्रममा उहाले आफ्नो अधिकारका लागि सम्वन्धीत क्षेत्र र निकायमा जान उत्प्रेरणा दिनु भयो । आफ्नो समुदायमा आएको बजेट कहाँ खर्च भइराखेको छ के कस्ता कार्यक्रम आएका छन् भन्ने कुरा चनाखो भएर जानकारी लिनु पर्नेमा जोड दिनु भयो । उहाले भन्न भयो आफू र आफ्ना सन्तानलाई शिक्षामा केन्द्रीत गर्न अनुरोध गर्नु भयो । शिक्षाको ज्ञानलेनै संसार जितिन्छ भन्ने मान्यता मनमा राखेर अध्ययन गर्न सुझाव दिनु भयो ।
सिंहदरबारको अधिकार पालिका, वडामा आएको भन्दै ति अधिकारलाई जनप्रतिनिधिले सहिरुपमा उपयोग गरेर तल्लो तहका जनतालाई सेवा दिनु पर्ने बताउनु भयो । जितेन्द्र चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा ३ नं. प्रदेशका सांसद ओमबहादुर घलान, संविधान सभा सदस्य गोविन्दराम चेपाङ, चेपाङ संघका उपाध्यक्ष सुनिमाया चेपाङलगायतले अल्पसख्यक चेपाङ भूमिहिन भएर बस्नु परेको भन्दै यसमा राज्य जिम्मेवार हुनु पर्ने बताउनु भयो । धादिङ, मकवानपुर र चितवनबाट भेला हुनु भएका प्रतिनिधिहरुले आफ्नो क्षेत्रमा भएका समस्या, राज्यसंग माग, गर्नु पर्ने काम लगायतको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले छलफलपछि नयाँ नेतृत्व चयन गर्नेछ ।


