चितवन, ७ मंसिर । उपनिर्वाचनलाई केन्द्रीत गरी जिल्ला प्रशासन कार्यालय चितवनले कसैसँग इजाजतप्राप्त कुनै हतियार भए पाँच दिनभित्र बुझाउन कडा निर्देशन दिएको छ ।
मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भयरहित सम्पन्न गर्नको लागि प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर १६, खैरहनी नगरपालिका ४ र ५ नम्बर वडामा सम्पन्न हुन गइरहेको उपनिर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन प्रशासनले सुरक्षालाई कडा गरेको छ । प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र धाँधलीरहित बनाउनको लागि चितवन जिल्लामा कसैसँग इजाजतलिएर राखिएका साना र ठूला हातहतियार भए नजिकैको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य बुझाउन अनुरोध गरेको छ ।



