पोखरा ७ मंसिर । कास्की क्षेत्र नम्बर २ को उपनिर्बाचनमा आफ्नो पक्षमा जनमत सिर्जना गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका नेताहरु पोखरा केन्द्रित भएका छन्।
कास्की २ को चुनाबी परिणामले सत्ता समीकरणमा कुनै फरक नपर्ने भए पनि नेकपा नेतृत्वको सरकारको कामलाई जनताले कसरी हेरेका छन् भन्ने सन्देश भने यसले पक्कै दिनेछ। त्यसकारण पनि चुनाबी परिणाम आफ्नो पक्षमा ल्याउनका लागि मुख्य बिपक्षी दल कांग्रेसका नेताहरु पोखरा केन्द्रित भएका छन्। टिकट बितरणमा शीर्ष नेतृत्वमा देखिएको एकताले पनि कांग्रेसजनहरु परिणाम आफ्नो पक्षमा आउनेमा आशाबादी छन्। हुन पनि कास्कीमा १६ जना टिकटका आकांक्षी भएकोमा त्यागी र अबसर नपाएका पुराना नेता खेमराज पौडेललाई अघि सारेर कांग्रेसले न्याय गरेको छ है भन्ने सन्देश दिएको छ।
उम्मेद्वारी दर्ताका दिन उपसभापति विमलेन्द्र निधि पोखरा पुगेका थिए भने त्यसपछिको कमाण्ड केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संहालेका छन्।
शुक्रबार दिनभर सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापालगायतका नेताहरु चुनावी कार्यक्रम, सभा र र्यालीमा सहभागी भएका छन्। यतिमात्र होइन, कांग्रेसका पक्षमा कांग्रेसको भ्रातृ संगठन नेपाल दरुण दल, नेपाल विद्यार्थी संघलगायत अन्य शुभेच्छुक संस्थाका नेताहरु पनि जम्मा भएका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई जिताएर पार्टीभित्र एकताको सन्देश दिन कार्यकर्तालाई आग्रह गरे। वरिष्ठ नेता रामचन्द्र पौडेलले खेमराज जस्ता निर्विवाद नेतालाई कांग्रेसले चुनावमा टिकट दिएको उल्लेख गर्दै जनताका अधिकार खोस्नतिर लागेको सरकारलाई यो निर्बाचन परिणामले गतिलो झापड दिने बताए।
कांग्रेस महामन्त्री शशांक कोइरालाले कास्की २ को चुनाव कांग्रेसका लागि पनि परीक्षा भएको बताए। कांग्रेस एक भएको ठाउँमा कसैले हराउन नसक्ने उल्लेख गर्दै कास्कीमा देखिएको एकता कायम राख्नुपर्नेमा महामन्त्री कोइरालाले जोड दिए।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले यो चुनावमा पनि सूर्यमा मतदान गरेमा सरकारले गरेका गलत कामलाई जनताले अनुमोदन गरे सरह हुने बताए। नेता शेखर कोइरालाले कम्युनिष्ट सरकारको कामका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको बताए।
कास्कीका लागि कांग्रेसका केन्द्रीय कमाण्डर मिनेन्द्र रिजालले संविधान प्रदत्त अधिकारको खिलापमा देखिएको सरकार अधिनायकवादतिर अघि बढिरहेको आरोप लगाए। नेता गगन थापाले २१ महिनाको सरकारले संघीयता, गणतन्त्र, समावेशीता र संविधानमाथि प्रहार गर्ने कामबाहेक अरु केही नगरेको आरोप लगाए।


