पोखरा, ६ मङ्सिर । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेकाले शङ्का नगर्न आग्रह गर्नुभएको छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति र पत्रकार महासंघ कास्कीको संयुक्त आयोजनामा शुक्रबार साँझ पोखरामा आयोजित ‘श्रमजीवि पत्रकार ऐन अवस्था र चुनौति’ विषयक परिचर्चा कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रता नेपाली समाजमा स्थापित भइसकेकाले कुनै पनि हालतमा कुण्ठित हुन सक्दैन, भन्नुभयो ।
प्रेस स्वतन्त्रता कुनै पनि हालतमा कुण्ठित नहुने बताउँदै उहाँले भन्नुभयो, ‘पत्रकार महासंघको धारणा के हो?, ‘तपाईंहरुको माग प्रेस स्वतन्त्रता हो वा प्रेसको सम्वद्र्धन र प्रवद्र्धन हो ? प्रेस स्वतन्त्रताको मुद्दा हो भने त्यो नेपाली समाजमा स्थापित भइसक्यो, अब यसलाई कसैले पनि हस्तक्षेप गर्न सक्दैन ।’
मन्त्री बास्कोटाले निरन्तर हेडलाइनकारिता गरेर पत्रकारिता पत्रकारिता नहुने टिप्पणी गर्नुभयो । उहाँले अहिलेसम्म नभएका काम वर्तमान सरकारले गरे पनि सँधै विरोधका स्वरहरु मात्र सुनिन थालिएको बताउँदै भन्नुभयो , ‘राम्रो गरेकोलाई राम्रो त भन्न सक्नुस् ।’
मिडिया सवलीकरणको लागि सरकारले समानुपातिक विज्ञान प्रणाली, क्लिन फिड् लागू गर्न लागेको बताउनुभयो ।’ उहाँले नेपालको इतिहासमा क्लिन फिडको व्यवस्था सरकारले गरेको बताउँदै यो लागू भएपछि नेपाली विज्ञापन बजार बढ्ने बताउनुभयो ।
उहाँले लोककल्याणकारी विज्ञापनमा पाँच करोड बजेट भएको तर समानुपातिक विज्ञापन प्रणालीका लागि आठ करोड बजेट छुट्याएकाले यथेष्ट हुन्छ, भन्नुुभयो ।


