माघ १, चितवन ।
१२ औं चितवन महोत्सवको अन्तर्गत उर्जा सम्बन्धि गोष्ठी सम्पन्न गरिएको छ ।
विद्युत व्यवसायी संघ चितवनको आयोजनामा उर्जा कुशलता तथा उर्जा व्यवस्थापन बिषयक गोष्ठी गरिएको हो । गोष्ठीमा इन्जिनरिङ्ग संस्थानका प्राध्यापक डाक्टर अमृतमान नकर्मी र पशुपति इन्जिनिरिङ्ग डेभलपमेन्ट कम्पनिका विजय मान शेरचनले कार्यपत्र प्रस्तुत गरे ।
प्राध्यापक डाक्टर अमृतमान नकर्मीले उर्जा उत्पादन र आपूर्तीको चुनौती विषयक कार्यपत्र प्रस्तुत गरे ।
नेपालमा अनुत्पादनशील क्षेत्रमा उर्जा खपतको अवस्था निकै भयानक रुपमा बढेको उनले बताए । घरायसी प्रयोजनका लागि उर्जाको प्रयोग अत्यधिक रहेको उनले जानकारी दिए । ७५ प्रतिशत उर्जा घरायसी प्रयोजनका लागि प्रयोग भइरहँदा २५ प्रतिशत मात्र उत्पादनशील क्षेत्रमा प्रयोग भएको उनले जानकारी गराए ।
नेपालमा उर्जाको लागि पेट्रोलियम पदार्थको प्रयोग १४ प्रतिशत छ भने विद्युत ३ प्रतिशत प्रयोग भएको पाइन्छ । उनले नेपालमा विद्युतयी उर्जाको खपत कम रहेकोले यसको प्रयोग बढाउनु पर्ने उनले जोड दिए । सरकारले “एक घर एक उर्जा” र “एक घर, एक उर्जा चुलो ” जस्ता कार्यक्रम ल्याए पनि प्रभावकारी हुन नसकेको उनले बताए ।
अर्का कार्यपत्र प्रस्तोता विजय मान शेरचनले सरकारले विद्युतीय उर्जामा लगानी बढाउन आवश्यक रहेको बताए । आयात गर्नुपर्ने उर्जा भन्दा उत्पादन गर्न सक्षम रहेको उर्जामा ध्यान दिन वर्तमानको आवश्यकता रहेको उनले बताए ।
नेपाल बिद्युुतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेल प्रमुख अतिथि रहेको गोष्ठी विद्युत व्यवसायी संघ चितवनका अध्यक्ष शशिधर लामिछानेको अध्यक्षतामा सम्पन्न भएको हो ।