चितवन समाचार डटकम
खैरहनी, ५ मंसिर । विद्यालयमा पढ्न आउदा सफासुग्गर आउनु पर्ने सर्तमा मजदुरका बालबालिकालाई चितवनको एक विद्यालयले भर्ना लिएको छ ।
सरसफाइमा ध्यान नदिएर आउदा अन्य विद्यार्थीले विद्यालय छाड्ने गरेको भन्दै सफा भएर आउने सर्तमा उनीहरुलाई भर्ना लिएको हो । सर्वपक्षिय वैठक बसेर विद्यार्थीका अभिभावकलाई सर्त गराएर मात्र चितवनको खैरहनी नगरपालिका वडा नंं. २ पटिहानीको आधारभुत विद्यालयले यस्तो सर्त लगाएको छ । विद्यालयका प्रधानाध्यापक सुनमाया लामाले भन्नु भयो ‘सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट हामीले पढाउने गरेका छौ, सफासुग्गर भएर विद्यार्थी आउछन्, तर मजदुरका बालबालिका फोहर भएर आउने भएपछि सर्त राखेर नै भर्ना लिएका हौ ।’
नजिकैको सरकारी विद्यालयमा पढ्न पठाउदा भर्ना नलिने, पढ्न आउन नदिने गरेपछि सरोकारवालाहरु बसेर सर्त गराएपछि मात्र विद्यालयले भर्ना गर्न मन्जुरी गरेको थियो । खैरहनी नगरपालिका वडा नंं. २ उत्तरी क्षेत्रमा पर्दछ । यस विद्यालयको वरीपरी इटा उद्योगहरु सञ्चालनमा रहेका छन् । उद्योगमा काम गर्न जिल्ला बाहिरबाट परिवारसहित मजदुरहरु आउने गर्दछन् । खनाल इट्टा उद्योगका सञ्चालक इश्वरी पण्डितले भन्नु भयो ‘यहाँ काम गर्न आउने मजदुरले छोराछोरी ल्याउछन्, फोहोरमा काम गर्नु पर्दा उनीहरुमापनि त्यसको असर पर्दछ, यस्ता बालबालिकालाई विद्यालयले भर्ना लिन मानेन, सफा गर्ने सर्तमा भर्ना गर्न लगाएका छौ ।’
फोहोरकै कारण पढ्नबाट बन्चित हुने भएपछि सबै मिलेर सर्त राखेका हौ । विद्यालय उमेरका बालबालिकालाई काममा लगाउन हुदैन, विद्यालय पठाउ भर्ना लिदैनन मजदुरहरुलाई राखेर सर्त लगाएपछि सजिलो भएको छ उहाले भन्नु भयो । नयाँ सफा कपडामा सफा सुग्गर पठाउने गर्दा उनीहरुमा ज्ञानको विकास हुन्छ र पढ्न सक्नेछन् पण्डितले भन्नु भयो । पटिहारी टोल विकास सस्थाका अध्यक्ष तुलसी श्रेष्ठले भन्नु भयो ‘फोहोर भएकै कारण पढ्नबाट बन्चित हुन भएन, त्यतीकै पढ्न पठाउ अन्य बालबालिका नआउने सवै मिलेर अभिभावकलाई सर्त नामा गरेर पढ्न दिएका हौ ।’
विद्यालय नजिक रहेको खनाल इटा उद्योगमा एकसय भन्दा धेरै मजदुहरुले काम गर्दै आएका छन् । यहाँ पढ्ने ५० जना बालबालिकालाई यसरी भर्ना गरिएको विद्यालयका प्रधानाध्यापक लामाले जानकारी दिनु भयो । विद्यालय व्यवस्थापन समिति, टोल विकास सस्था, इटा उद्योगी, उद्योगमा बालबालिकालाई प्रारम्भिक बालशिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको सस्थाको प्रतिनिधि भएर यस्तो सर्त नामा गरिएको हो । मजदुरका बालबालिकालाई प्रारम्भिक शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको बेटर ब्रिक परियोजनाका कार्यक्रम संयोजक रामचन्द्र आचार्यले भन्नु भयो ‘पोशाक र स्टेशनरी परियोजनाले उपलब्ध गराउने छ, मजदुरका बालबालिकालाई खाजा र अतिरिक्त पाठ्य सामग्री उद्योगीले दिनेछन् ।’
सरसफाइको लागि साबुन, ब्रस, तेल, काइयो, नंग काट्ने सामग्री, रुमाललगायतका सामग्री युथ क्लब नारायणगढले उपलब्ध गराएको छ । बालश्रम सम्बन्धी काम गर्दै आएको युथ क्लब नारायणगढले ति बालबालिकालाई विद्यालयका प्रधानाध्यापक, टोलविकास सस्थाका प्रतिनिधि राखेर सामग्री वितरण गरेको अध्यक्ष रामबाबु श्रेष्ठले जानकारी दिनु भयो । विद्यालयमा मजदुरका बालबालिका बाहेक ९७ जनाले अध्ययन गर्दै आएका छन् ।


