चितवन, ४ मंसिर । चितवनको भरतपुर महानगरपालिका ४ सृष्टि चोकमा अत्याधुनिक नेट फ्रेस हस्पिटल प्राकृतिक चिकित्सालय सञ्चालनमा आएको छ ।
बिना अप्रेशन प्राकृतिक तथा अन्य विधिद्वारा बिरामीको उपचार गर्ने उदेश्यका साथ २ करोडको लगानीमा चिकित्सालय स्थापना गरिएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी चित्सिालयमा सेवा प्रारम्भ गरिएको जानकारी दिइएको थियो ।
योग ध्यान जस्ता परम्परिक विधिहरुको स्थापना र प्रोत्साहन गर्दै दीर्घरोगहरुको दिगो समाधानका लागि अस्पतालले सेवा प्रदान गर्ने अस्पतालका सञ्चालक गोविन्द हुमागाईले जानकारी दिनु भयो । उहाले भन्नु भयो,‘भविष्यमा यसलाई प्राकृतिक चिकित्सा शिक्षालयको रुपमा विकास गर्ने उदेश्यका साथ चिकित्सालय स्थापना गरेका हौं, त्यही अनुरुपका गतिविधि गर्दै जानेछौं ।’
उहाका आधुनिक मेसिनका साथ स्थापना गरिएको अस्पतालमा २ करोड लगानी भइसकेको छ । अस्पतालमा प्रयोग भएका सामग्री र यहाँको उपचार पद्धती नेपालमा नै नयाँ भएको बताउनु भयो ।
१० शैयाको अस्पताल सञ्चालनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसँग अनुमति मागिएको हुमागाईले बताउनु भयो । गरिब तथा असहाय बिरामीको लागि ऐनअनुसार निशुल्क गर्ने उल्लेख गर्दै हुमागाईले बिरामीहरु आवासीय रुपमा नै बसेर उपचार गर्न सक्ने व्यवस्था गरिएको बताउनु भयो । चार सय रुपैयाँको टिकट काटेर चिकित्सकसँग परामर्श लिन सकिने अस्पतालले जनाएको छ । डाक्टर सङ्ग्राम पुरीकाअनुसार पञ्चकर्म विधि तथा विभिन्न थेरापीको माध्यमबाट उपचार गरिनेछ । अस्पतालमा जनरल बेड, क्याबिन तथा विशिष्ट व्यक्तिका लागि समेत दुई वटा बेड छुट्याइएको पुरीले बताउनु भयो । अन्य प्राकृतिक चिकित्सालयको भन्दा न्यून शुल्कमा बिरामीको उपचार गरिने उल्लेख गर्दै पुरीले बिरामीलाई चिकित्सकको निर्देशन अनुसार शुद्ध अर्गानिक खाद्यान्न खुवाइने बताउनु भयो । ११ जना सञ्चालकहरु रहेको सो अस्पतालमा तीन जना चिकित्सक कार्यरत छन् ।
डाक्टर पुरीले मानिसको खानपिन र जीवनशैलीका कारण दैनिक रुपमा बिरामीको सङख्या बढेकाले भरतपुरमा प्राकृतिक चिकित्सालय स्थापना आवश्यक भएको उहाले बताउनु भयो । शिक्षण अस्पतालको रुपमा विकास गर्ने लक्ष्य लिएको अस्पतालले १३ विगाह क्षेत्रफलमा विकास गर्ने योजना रहेको जनाएको छ ।
अस्पतालका प्रबन्ध निर्देशक डा भगवानचन्द्र ज्ञवालीले अस्पतालमा मानसिक र दीर्घ रोगका बिरामीहरु बढी आउने गरेको बताए । अस्पतालले बिरामीलाई परामर्शका साथै योग शिक्षा समेत प्रदान गर्ने ज्ञवालीले बताए । बिरामीहरुको अप्रेशन विना नै प्राकृतिक तथा अन्य विविधबाट उपचार, दीर्घ रोगीको उपचार, चर्मरोगहरुको उपचार सुरु गरिएको ज्ञवालीको भनाइ छ । अस्पतालले प्राकृतिक आहारसहितको अन्तरंग सेवा, विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण तथा परामर्श, प्राकृतिक चिकित्सा, अकुपंचर, अकुप्रेसर थेरापी, तनाव व्यवस्थापनलगायतका सेवा प्रदान गरिरहेको छ ।


