आन्दोलनका क्रममा इरानमा एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु

काठमाडौं, ४ मंसिर :

इन्धनको मूल्यवृद्धि गर्ने सरकारको निर्णविरुद्ध सुरु भएको आन्दोलनका क्रममा इरानमा एक सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।

गत मंगलबारदेखि सुरु भएको प्रदर्शनका क्रममा देशका २१ सहरमा एक सय ६ जना सर्वसाधारण मारिएको एमनेष्टि इन्टरनेशनलले जनाएको छ । मृतकहरुको संख्या अझै बढ्न सक्ने एमनेष्टिको दावी छ । अधिकारीहरुले सरकारविरुद्ध भएको आन्दोलन दबाउन अत्याधिक बल प्रयोग गरेको एमनेष्टिले आरोप लगाएको छ ।

तर एमनेष्टिको दावीप्रति इरान सरकारले आधिकारीक धारणा सार्वजनिक गरेको छैन । इरानको उक्त कदमको सर्वत्र विरोध भएको छ । संयुक्त राष्ट्रसंघले इरानले आन्दोलमा दमन जारी राखे प्रतिवन्ध लगाउने चेतावनीसमेत दिएको छ । सुरक्षाकर्मीले मृतकका शव उनीहरुका आफन्तलाई फिर्ता गर्नसमेत इन्कार गरेको एमनेष्टिको आरोप छ ।

सरकारले इरानमा पेट्रोलको मूल्य वृद्धि गर्नुका साथै अन्य छुटहरु कटौती गरेपछि आन्दोलन चर्किएको हो । राष्ट्रपति हसन रुहानीले मुल्य वृद्धि भएपनि गरिव परिवारका लागि सरकारले चाँडै नै विशेष छुट योजना ल्याउने आस्वासन दिनुभएको छ । एजेन्सी

शेयर गरौ

ताजा अपडेट