यातायात मजदुरको केन्द्रीय वैठक चितवनमा, दुर्घटना कम गर्न ४८ हजार चालकलाई प्रशिक्षण गर्ने निर्णय

 

चितवन समाचार डटकम
चितवन २१ माघ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राइले दुर्घटना न्यनिकरणका लागि सार्वजनिक सवारी साधनका चालक तथा सह चालकहरुलाई सडक सचेतना सम्वन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भएको छ ।

चितवनको भरतपुरमा हिजो र आज भएको संगठनको केन्द्रीय समितिको वैठकपछि कुराकानी गर्दै अध्यक्ष राइले अनुशिक्षण कार्यक्रमबारे सस्थागत निर्णय गरी अभियान शुरु गर्न लागिएको जानकारी दिनु भयो । ‘एक वर्षको अविधीमा हामीले देशभरीका ४८ हजार चालक सह चालकलाई सचेतना मुलक प्रशिक्षण गर्ने छौ’ उहाले भन्नु भयो ‘यसबाट दुर्घटना न्युनिकरणमा ठुलो मद्यत मिल्ने छ भन्ने विश्वास लिएका छौ ।’

भरतपुरमा सम्पन्न वैठकले महामारी जस्तै फैलिएको सडक दुर्घटना न्युनिकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशव्यापी रुपमा सडक दुर्घटना न्युनिकरण राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको उहाले जानकारी दिनु भयो । नेपालमा दैनिक ७ देखि ८ जना र वार्षिक २ हजार ५ सय २० देखि २ हजार ८ सय ८० जनाको मृत्यु सडक दुर्घटनामा हुनेगरेको पाइएको छ ।

यस अभियान अन्र्तगत चालक तथा सहचालकहरुलाई सडक अनुशासन र ट्राफिक नियम बारे शिक्षित गराईने लक्ष्य सहित संगठनले् सातवटै प्रदेशहरुमा अभियान सञ्चालन गरिने जनाईएको छ । अभियान अन्तरगत संगठनको देशभरीका कमिटीहरु मध्ये २ सय कमिटीहरुले प्रत्येक महिनाको एक पटक न्युनतम २० जना मजदुरहरुसहभागी गराई सम्बन्धीत स्थानका ट्राफिक प्रहरीका प्रमुख मार्फत प्रशिक्षण दिईने संगठनका केन्द्रीय अध्यक्ष राईले जानकारी दिनु भयो ।

त्यसैगरी सडक दुर्घटना न्युनिकरण सम्भव छ भन्ने नारा सहित सञ्चालित अभियान अन्तरगत सरोकारवालाहरुको सहभागीतामा केन्द्रीय तह र प्रदेश तहमा सडक दुर्घटना, कारण र न्ष्ुनिकरणका उपाय विषयमा कार्यशालाहरु समेत गरिने छ ।

अभियान अन्तरगत “म जिम्मेवार यतायात मजदुर” भन्ने संगठनले तयार पारेको स्टिकर प्रत्येक बसपार्कमा सार्वजनिक गरि सवारीसाधनमा टास्ने, स्टिकरमा उल्लेखित आठ बुदाहरु यातायात मजदुरहरुलाई प्रतिवद्धता गराउन लगाउने । लगायतको अभियानहरु रहेका छन् ।

सडक दुर्घटनामा चार पक्षहरु भौतिक, यान्त्रिक, मानवीय र पर्यावरणीय हुने गरेको भएतापनि सरोकारवालाहरुले यसको वारेमा खोजी गर्ने काम नगरेको प्रति संगठनले चिन्ता व्यक्त गरेको छ । साथै प्रदेश तथा संघिय सरकारले निर्माण गरिरहेको सवारी तथा यातायात व्यवस्था ऐनलाई मजदुरमैत्री बनाउन तथा मजदुरहरुलाई गम्भिर असर गर्ने बुदांहरु संशोधनका लागि सरकारका सम्बनधीत मन्त्रालयमा ध्यानाकर्षण गराउने साथै आवश्यक दवावमुलक कार्यक्रमहरु गर्ने निर्णय भएको छ ।

त्यस्तै यातायात मजदुरहरुलाई रक्तचाप, महुमेह, आंखा, मुटु मृगौला जस्ता रोगहरुका बारेमा बासपार्क आधारित शिविर राखी निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम गर्ने निर्णय संगठनले गरेको छ ।

त्यस्तै योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा यातायात, निर्माण, कृषि लगायत अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई समेट्न सरकारलाई दवावमुलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

संगठनका कुनैपनि तहका नेतृत्वले सार्वजनिक स्थलमा मद्यपान, धुम्रपान सेवन गर्न बैठकले पूर्णत निषेध गरेको छ, बोलीव्यवहार र आचरणलाई सुधार नभए कारवाहीको विषय बनाईने समेत बैठकले निर्णय गरेको छ ।

 

ताजा अपडेट