जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको नेकपा अध्यक्ष प्रचण्डद्धारा स्वीकार

काठमाडौं, ३ मंसिर :

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन् ।

भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा दुईतिहाइको सरकार हुँदा पनि व्यवसायीले चाहे जस्तो वातावरण बन्न नसकेकोमा दुःख व्यक्त गरे। ‘उद्योगी व्यवसायीहरुले सरकारबाट उद्योग तथा लगानीका लागि जस्तो वातावरण खोजेका थिए, त्यहो भएन। कर मात्रै लगाइएको गुनासो सुनिरहेको छु’, दाहालले भने, ‘ठेक्का प्रणालीमा पनि सुधार हुन सकेन ।

लगानीमैत्री वातावरण बनाउन तदारुकता नदेखिएको गुनासो व्यापारीहरुले गरिरहेका छन्।’ देश दौडाहाका क्रममा आफूले जनस्तरबाट अझै पनि सरकारको गतिबारे प्रश्न सुनिरहेको उनले बताए । ‘सरकार अझै पनि कहाँ अल्झिएको हो? जनअपेक्षा अुनसार काम भएको छैन’, उनले भने, ‘केही ढिलो पक्कै भएकै हो । तर उद्योग व्यापारको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने कुरामा सरकारले प्रतिवद्धता जनाएको छ ।

पार्टीको तर्फबाट मैले पनि प्रतिवद्धता गरेको छु।’ अध्यक्ष दाहालले सरकारको गति सुस्त भए पनि अबको ५ वर्ष भित्रमा नेपालका व्यवसायीको सबै अपेक्षा पूरा हुने दाबी गरे।

ताजा अपडेट