काठमाडौं, २ मंसिर । मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ ।
पटक–पटक सरकार फेरिए, मन्त्री फेरिए, आयोजनाका प्रमुख फेरिए, सडक विभागका उच्च पदस्थ कर्मचारी समेत बदलिए । स्थानीयवासी सधैं समस्यामा नै परिरहे । पहिरामा परेका कतिका परिवार बिते, कति टुहुरा भए ।
अनि अपाङ्गताको जीवन अझै बाँचिरहेका पनि छन् । तिनलाई सरकार भएको र नभएको कुनै फरक परेन । सडकले जीवन लिएकाले समस्याबाट कहिले मुक्ति पाइएला भनेर बस्नुको विकल्प थिएन । किनकी राज्यले उनीहरुको दुःख देखेकै थिएन । देखेकै भए पनि अनुभव गरेको थिएन ।
बुटवलवासी र पाल्लापावासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो । वर्तमान सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि एउटा उपाय निकाल्यो र बजेटमा समेत समावेश गर्यो । सो सडक खण्डमा सुरुङमार्ग निर्माण गर्न सकियो भने स्थानीयवासीको समस्या समाधान हुन सक्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव समेत रहेका नेता विष्णुप्रसाद पौडेलले लामो समयदेखि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि पहल गर्दै आएका थिए । अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा नै उनले सो सडक खण्डको समस्या समाधानका लागि विशेष पहल गरेका थिए ।
पाल्पाबाट केन्द्रीय राजनीतिमा आफ्नो अलग्गै पहिचान बनाएका सोमप्रसाद पाण्डेको पहल पनि उत्तिकै महत्वपूर्ण रह्यो । स्थानीयवासीको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको छ । सो सडकखण्ड भएर दैनिक यात्रा गर्ने यात्रुलाई सिद्धबाबाबाट कहिले मुक्ति पाइएला भन्ने दशकाैंदेखिको सपना पूरा हुने भएको छ ।
निरन्तरको पहलपछि एउटा गतिलो र दीर्घकालीन समस्या समाधानको चरणमा पुग्न सकिन्छ भन्ने आम सोचाई जस्तै सिद्धबाबा खण्डको समस्या समाधान गर्ने लक्ष्यसहित सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको छ ।
थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्याश भइसकेको छ । सो आयोजनाको निर्माण कार्य शुरु हुन लागेकै बखत अर्थ मन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरेको हो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मंसिर १ गते अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिनुभएको हो । सो पत्र आज मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको हो ।


