विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २ मङ्सिर

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको हो । सोमबार प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाको उद्घाटन गर्दै उहाँले विकास आयोजनाहरुको जग्गाको मुआब्जा लिँदा अनुचित लाभ लिनुपर्छ भन्ने खालका प्रवृत्तिहरुका कारण धेरै विकास आयोजनाहरुको कामहरु अघि बढन नसकेको दृष्टान्त पनि पेश गर्नु भयो । ‘माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजना ९० मेघावाटको बन्न सक्थ्यो, प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘तर जग्गाको मुआब्जा जस्ता अनावश्यक विवादका कारण यो आयोजना विलम्ब मात्रै हुन नगई यसको लागत पनि बढन गयो, ६० मेघावाट विद्युत उत्पादनमा सीमित हुनुपर्ने अवस्था आयो, यस्ता प्रवृत्तिले सिंगो देशलाई नै नोक्सान पु¥याउँछ ।’ त्यस अवसरमा उहाँले अन्य जल विद्युत आयोजनाहरु पनि यस्तै प्रवृत्तिका कारण अघि बढन नसकेको उल्लेख गर्दै विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन पनि सम्बन्धित सबैलाई आह्वान गर्नु भयो । विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो ।

शेयर गरौ

ताजा अपडेट