काठमाडौ १ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिचिएको नेपाली भूमि सरकारले फिर्ता गराउने बताएका छन् । उनले नेपाल राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको रक्षाका लागि नै बाम गठबन्धनले विगतमा जनताको अभिमत पाएको र अब हुने उपनिर्वाचनमा समेत राष्ट्रिय स्वाधिनता र अखण्डताकै निम्ति नेकपालाई मतदान गर्न आग्रह गरे ।
भक्तपुर क्षेत्र-१ (क) मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवार डिपी ढकालसँगै घर दैलोपछि आयोजित चुनावी सभामा नेता श्रेष्ठले भने, ‘कालापानी, लिम्पियाधुरा हाम्रै भूमि हुन्, भारतको राजनीतिक नक्साबाट यो भूमि हटाइनुपर्छ ।’ उनले देशलाई संमृद्ध बनाउन नेकपाबाहेक अन्य कुनै बिकल्प नभएको बताए ।
सभामा बोल्दै सांसद महेश बस्नेतले भक्तपुरको विकासका लागि ढकाल र आफ्नो जोडी मिल्ने बताए । कार्यक्रममा प्रदेश सांसद रामेश्वर फुयाँल, भक्तपुर इन्चार्ज दिलिप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र, नेकपा भक्तपुरका अध्यक्ष वचन देउजा लगायत सहभागी थिए ।


