चितवन मंशिर १।
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विस्तारित स्वास्थ्य सेवा सुरु गरको छ । साँझको समयमा अस्पतालमा नै न्यून अतिरिक्त शुल्क तिरेर उपचार गर्न पाउने गरी यस्तो सेवा विस्तार गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । सेवाको भरतपुर महानगर प्रमुख रेनु दाहालले उद्धघाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अस्पतालका चिकित्सक, कर्मचारीलाई आकर्षक सुविधा दिएर भएपनि डाक्टर लाई यही अस्पतालमा जति सक्दो धेरै सेवा दिने वातावरण सृजना गर्न आग्रह गर्नु भयो । जुन उद्देश्यले यो सेवाको बिस्तार गरियो त्यही उद्देश्य पूरा नहुने स्थिति सृजना हुन नदिन पनि उहाँले सचेत गराउनु भयो । कार्यक्रममा समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, कांग्रेस चितवनमा सचिव उत्तम जोसी, नेकपाका अध्यक्ष यामबहादुर परियारले अस्पतालको सेवा थप व्यस्थित सर्व सुलभ र गरिव नागरिकले पनि उपचार गर्न सक्ने गरी मिलाउन आग्रह गर्नु भयो ।
सो अवसरमा बोल्दै महानगर प्रमुख रेनु दाहालले पछिल्ला समयमा क्यान्सर अस्पतालले धेरै फड्को मारेको र हरेक सेवालाई चुस्त दरुस्त पारदर्शी र प्रभावकारी बनाउँदै लगिएको बताउनु भयो ।
बिगतमा अध्यक्ष हुँदाभन्दा अहिले अध्यक्ष विहिन अवस्थामा पनि अस्पताले गरेको प्रगतिले संस्थाको प्रगतिका लागि अध्यक्ष नै चाहिन्छ भन्ने भ्रमको अन्त्य गरेको बताउनु भयो ।
अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले नियमित स्वास्थ्य परीक्षणका लागि बिहान ७ देखि दिउँसो २ः३० बजेसम्म बहिरङ्ग टिकट काटिन्छ भने त्यसपछि तीन घण्टा विस्तारित स्वास्थ्य सेवाका लागि टिकट काटिने जानकारी दिनु भयो ।
विस्तारित सेवामा रेडियोलोजी, प्याथोलोजी, श्ययालगायतमा थप शुल्क लाग्नेछैन । विस्तारित सेवामा शल्यक्रियामा नियमितभन्दा ५० र रेडियोथेरापीमा २५ प्रतिशत बढी शुल्क लाग्ने आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको नियमित सेवामा सबैभन्दा महङ्गो शल्यक्रियाको ३० हजार रुपैयाँ पर्ने गर्दछ । सोही शल्यक्रिया विस्तारित सेवामा गर्दा ४५ हजार रुपैयाँ पर्दछ भने बाहिर निजी अस्पतालमा गर्दा दुई लाख रुपैयाँसम्म पर्ने गर्दछ । बिरामीको चाप नियमति रूपमा धान्न नसकेपछि पालो कुर्न र निजीमा धाउनु नपरोस भन्ने उद्देश्यले विस्तारित सेवा शुरु गरिएको उहाँले जानकारी दिनु भयो ।


