कालापानीबारे कुनै विवाद नै छैन : नेपाल

काठमाडौ १ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा विवाद नरहेको बताएका छन् । आइतबार वैकल्पिक अध्ययन समाजले नेपाल, चीन र भारत सम्बन्धबारे काठमाडौंमा आयोजित छलफल कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

‘कालापानीबारे कुनै विवाद नै छैन । कालापानीको मुहान नै लिम्पियाधुरा भएको हुँदा त्यहाँको सम्पूर्ण भूभाग नेपालको हो,’ भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा यो क्षेत्र समेटेकोतर्फ लक्षित गर्दै नेता नेपालले भने, ‘हाम्रोमा भएको प्रमाणहरु भारतलाई देखाएर सरकारले उच्च कूटनीतिक पहलसहित छलफल गरेर समस्या समाधान गर्नुपर्छ ।’

दुई देशबीचकाे सीमा विवादलाई भारतीय मिडियाले नेपालले भारतसँग सम्बन्ध बिगार्नका लागि उठाएको र चीनपरस्त भयो भन्ने आरोप लगाइरहेकोमा नेता नेपालले आपत्ति जनाए । उनले भने, ‘भारतीय मिडियाका यस्ता गलत समाचारले दुई देशको सम्बन्ध सपार्न होइन, बिगार्न सक्छ ।’

आफू परराष्ट्रमन्त्री रहेको समयमा नेपालमा देखिएको भुटानी शरणर्थीको समस्या हल गर्न भारतका तत्कालीन प्रधानमन्त्री नरसिंह रावले ‘नो’बाट कुरा सुरु गरेर ‘यस’ भनेर सम्वाद सम्पन्न गरेको सम्झँदै नेता नेपालले यस्तै किसिमको पहलबाट जुनसुकै प्रकारका समस्या समाधान गर्न सकिने प्रष्ट पारे । ‘नेपालको कूटनीतिमा रहेका कार्यविधिहरुको कार्यान्वयनमा धेरै कमजोरी देखेकाे छु,’ नेपालले भने, ‘यसकाे प्रमुख कारण भनेको हाम्रा अधिकारीहरु, राजनीतिक व्यक्तित्वहरुको गहन अध्ययनको कमी हो । आवश्यक विषयमा अध्ययन गर्दैनन् । ‘कन्फिडेन्स’का साथ जाँदैनन् । छलफल गर्दा बाैद्धिक र तथ्यगत रुपमा गर्दैनन् । समस्या यहीबाट सुरु भइदिन्छ ।’

नयाँ पत्रीकाबाट

शेयर गरौ

ताजा अपडेट